Wed. Nov 27th, 2024

अफगानिस्तानमा भूकम्पबाट एक हजार जना भन्दा बढीको मृत्यु   

काबुल, २०७९ असार ८ गते बुधबार । अफगानिस्तानमा आज बिहान आएको शक्तिशाली भूकम्पमा परी एक हजार जना भन्दा धेरै मानिसहरुको मत्यु भएको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै भूकम्प आएको हो । भूकम्पबाट खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका छन् ।

भूकम्पमा परी अहिलेसम्म एक हजार ५०० भन्दा बढी घाइते भएको विवरण प्राप्त भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समय अनुसार विहान १.३० बजेतिर भूकम्प आएको हो ।

घटनास्थलबाट गम्भीर घाइते भएकाहरूलाई वा जटिल अवस्थामा पुरिएका वा थुनिएकाहरूलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौ उद्धारकर्ता पनि परिचालित छन् ।

भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । सो संस्थाका अनुसार भूकम्प ६.१ म्याग्निच्युडको रहेको थियो ।

तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पिडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । घटनास्थलबाट विवरणहरू संकलन गर्ने कार्य भइरहेकाले क्षतिको पूर्ण र यथार्थ विवरण आउन बाँकी नै रहेको पनि उहाँले बताउनुभयो । रासस/एएनआई   

Facebook Comments