Fri. Apr 19th, 2024

आँसुको ऐना (भाइको सम्झनामा दिदीका शब्दरुपी पुष्पहरु)

- शान्ति शर्मा

काठमाण्डौं, २०७९ असार ८ गते बुधबार ।

✍️ शान्ति शर्मा

मेराे जीवनकाे माेडबाट
एक्कासी हरायाे हिड्दै गरेको गोरेटो
हेर्छु, घाम उही छ दिनमा
जून उही छ रातमा,
धर्ती भासिँदै गएकाे बेला
म, ऊ र उनीहरू वरिपरि छन् आँखामा,
बस् तिमी मात्रै छैनाै,
फूल हाँस्न सकेकाे छैन,
चरी नाच्न सकेकाे छैन,
हाँसेर मसँग
खुसी बाँच्न सकेकाे छैन,
प्रिय एकु!
भाग्यमानी हुन्छिन् ती दिदी
जसका भाइ हुन्छन्
धराको विशुद्ध सुन्दर नाता हो
दिदी भाइ।
म तिम्रो सान थिएँ
तिमी मेरो ज्यान थियौ
भाइको माया त दिएकै थियौ
राख्थ्यौ एक पिताको जस्तो ख्याल पनि
तिम्रो नजरमा म
र आमाभन्दा सुन्दर
महिला कोही थिएन यो संसारमा
प्रिय एकु!
तिमी मेरो असल मित्र
र थियौ मार्गदर्शक पनि
तिमीले छाडेर गएपछिका
थोरै दिन मात्रै किन नहोस
सिङ्गो युग बनेर छाेपिरहेछ मनलाई
एकु!
हरेकदिन एउटा पत्र लेख्छु तिम्रो नाममा
र पढ्छु हरेक दिन आफैं
कहाँ गयौ
कस्तो ठाउँमा गयौ
न त चिठी पठाउन मिल्ने
न फोन म्यासेज गर्न सकिने
एकबारको जुनी
जन्मेपछि मर्नु त छँदै थियो
तिमीले पनि आफुलाई
माया गर्नुपर्ने गरेनौ,
जतन गर्नुपर्ने गरेनौ,
हतार गर्यौ
अनन्त यात्राको लागि
एकु!
तिमी नहुँदा पनि
आउँदारहेछन् चाडबाडहरू,
फुल्दारहेछन् सयपत्री, गोदावरी
र मखमलीहरू,
समय कति कठाेर हुन सकेकाे नि!
जब तिहारमा
घट्छ नि!एउटा माला
तिम्री दिदीको मुटु पनि
छरिन्छ टुक्रा टुक्रा भएर
कसरी शब्दमा बयान गरौं
तिम्रो अभाव
कति खट्किरहेछ,
रात छ
र पनि सपनाहरू छैनन्
दिन छ
र पनि उज्यालाे छैन
केवल रित्ताे रित्ताे छ मन
आँसुमा टल्पलाएकाे
आँखाबाट पलपल
तिमी जादैछौ भन्ने थाहा पाएकाे भए
साथै पठाइदिन्थेँ यो ढुक्ढुकी
अचेल
ऐना हेर्छु
अविरल बर्षन्छन् आँसुहरू
र छोपिन्छ आफ्नो प्रतिविम्ब
अनि टुप्लुक्क टुप्लिकिन्छौ तिमी त्यही आँसुमा
जसलाई हेरेर
अघाउन्जेली मेट्नु परेको छ
मनभरिको न्यास्रो!
के मलाई जस्तै
तिमीलाई मेरो याद आउदैन?
*******************
जन्म मिति २०३२/८/२७- निधन २०७७/३/८
नाम- एकराज शर्मा
माइलो भाइ
*********************
माइला! तैले छोडेर गएको पनि आज दुई बर्ष भयो, युग बनेर बिते यि दुइ बर्ष ,जहाँ भएपनि राम्ररी बस् है !,अर्को जुनि हुँदोरहेछ भनेँ फेरि एउटै कोखमा बास लिएर आउँला !!😭😭

Facebook Comments