युद्धबाट विस्थापित युक्रेनी बालबालिकालाई सहयोग गर्न रुसी पत्रकारद्वारा नोबेल पदक बिक्री
वासिङ्टन, (अमेरिका)/२०७९ असार ७ गते मंगलबार । रुसी समाचार आउटलेट नोभाया गजेटाका प्रधान सम्पादक दिमित्री मुराटोभको स्वामित्वमा रहेको नोबेल शान्ति पुरस्कार पदक संयुक्त राज्य अमेरिकामा बिक्री गरिएको छ । सो पदक लिलामी प्रक्रियाद्वारा १०३.५ मिलियन अमेरिकी डलर ( हेरिटेज अक्सन) मा बिक्री भएको हो ।
लिलामी शुरु हुनुअघि मुराटोभले उठाएको सबै पैसा पोल्याण्ड, रुस, जर्मनी, मोल्डोभा, स्लोभेनिया, चेक रिपब्लिक र हङ्गेरीलगायत देशहरूमा रहेका युक्रेनी शरणार्थीहरूलाई सहयोग गर्न युनिसेफलाई दिइने बताउनु भएको छ । मुराटोभले २०२१ मा सो पदक प्राप्त गर्नु भएको थियो ।
दिमित्री मुराटोभ र मारिया रेसाले सन् २०२१ को नोबेल शान्ति पुरस्कार संयुक्त रूपमा प्राप्त गर्नु भएको हो । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने उहाँहरुको प्रयासको लागि सो पुरस्कार दिइएको थियो ।
युद्धबाट विस्थापित युक्रेनका बालबालिकालाई सहयोग गर्ने अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्दै उहाँले सो सहयोगको घोषणा गर्नु भएको हो।
युक्रेनी शरणार्थी सङ्कटको पूर्ण दायरा मापन गर्न गाह्रो छ र दोस्रो विश्वयुद्धपछि युरोपमा अन्य कुनै पनि शरणार्थी सङ्कटभन्दा यो सङ्कट धेरै पेचिलो छ। मे २४ सम्म संयुक्त राष्ट्रसंघको अनुमान अनुसार ६६ लाख शरणार्थीले युक्रेन छोडेका छन्।
करिब ३५ लाखभन्दा बढी पोल्याण्ड, लगभग १० लाखभन्दा बढी रोमानिया, र १० लाख शरणार्थी रुसतर्फ भागेका छन् । यसै बीच हङ्गेरी, मोल्डोभा र स्लोभाकियाले शरणार्थीहरूलाई समायोजन गर्न सङ्घर्ष गरिरहेका छन् ।
“संयुक्त राष्ट्रसंघले कम्तीमा दुई दर्जन भन्दा बढी देशहरूमा १०,००० भन्दा बढी शरणार्थीहरू रहेको बताएको छ। त्यस्तै लाखौं मानिसहरू युक्रेन भित्रै विस्थापित भएका छन् । सबैलाई खाना, आश्रय र अन्य आधारभूत आवश्यकताहरू चाहिएको छ । अझै १ करोड ४० लाख मानिसहरूले त सुरक्षित आश्रयस्थल खोजिरहेका छन् । (एजेन्सी)