Fri. Nov 15th, 2024

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा संसारभरिका मानिसलाई सडकमा उत्रन अपिल

काठमाण्डौं, २०७८ चैत १० गते बिहीबार । रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उहाँको देशप्रति समर्थन जनाउन आग्रह गर्नुभएको छ ।

रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको उहाँले बताउनु भएको छ । निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गर्नुभएको हो । आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उहाँले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भन्नुभएको छ ।

उहाँले भन्नुभयो, “तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्।”  “मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस्।”

उहाँले युक्रेनमा रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडिरहेको पनि बताउनु भयो। रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उहाँले बताउनु भयो। रुसले आक्रमण गरेको एक महिना बितिसकेको र यसबीच आफ्नो, सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उहाँले उल्लेख गर्नुभयो । बीबीसी

Facebook Comments