Mon. May 20th, 2024

चीनमा दूर्घटनाग्रस्त बोईङ विमानको ब्ल्याकबक्स भेटियो

काठमाण्डौं, २०७८ चैत ९ गते बुधबार । दक्षिणी चीनको पहाडी क्षेत्रमा दूर्घटनामा परेको चाइना ईस्टर्न एयरलाईन्सको विमानको ब्ल्याक बक्स खोजीकर्ताहरूले भेट्टाएको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएको छ।

चिनियाँ उड्डयन अधिकारीहरूले दुई दिनको खोजी पश्चात् ब्ल्याक बक्स भेटिएको बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन्। अधिकारीहरूले मृतकको सङ्ख्या अझै यकिन गरिसकेका छैनन् तर विमानमा सवार १३२ जनाको जीवितै उद्धार हुने सम्भावना कम रहेको आशङ्का गरिएको छ।

चीनमा दुई दिनअघि दुर्घटनामा परेको यात्रुवाहक विमानको भग्नावशेष फेला परेको क्षेत्रमा ठूलो वर्षा भएपछि पहिरो जाने जोखिमका कारण खोजी तथा उद्धार अभियान अवरुद्ध भएको छ।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार दुर्घटनास्थल भएको क्षेत्रको जमिनमा माटोले धेरै पानी सोसेकाले उद्धारकार्य “अनिश्चित” बनेको छ। दक्षिण चीनको पहाडी भेगमा सोमवार चाइना ईस्टर्नको १३२ मानिस सवार एमयू५७३५ विमान दुर्घटनामा परेको थियो। उद्धारकर्मीले अहिलेसम्म कसैलाई पनि जीवित फेला पार्न सकेका छैनन्।

चीनको क्वाङशीमा सोमबार दिउसो दूर्घटना भएको चाईना ईस्टर्नको विमान बोईङ ७३७ को ब्ल्याक बक्स खोज्न उद्धारकर्ताहरु निरन्तर प्रयत्नशिल थिए ।

अनुसन्धानकर्ताहरूले उक्त विमान किन अकस्मात् आकाशबाट खस्यो भन्ने पत्ता लगाउन सकेका छैनन्। दुर्घटनाका कारण चीनमा शोक फैलिएको छ। यात्रु र चालकदलका सदस्यका आफन्तहरू समाचारको व्यग्र प्रतीक्षा देखिन्छन्।

दुर्घटना भएको ३६ घण्टापछि चीनको नागरिक उड्डयन प्रशासनले मङ्गलवार साँझ एउटा पत्रकार सम्मेलन गरेको थियो। त्यस बेलासम्म उक्त घटनामा कति जना हताहत भए भन्ने विषयमा आधिकारिक जानकारी आएको थिएन।

“अहिलेसम्म खोजी र उद्धारकार्यमा कोही पनि जीवित फेला परेका छैनन्,” उक्त निकायका एक वरिष्ठ अधिकारीले पत्रकारहरूलाई भने।

“अहिलेसम्म प्राप्त सूचनाका आधारमा हामीले दुर्घटनाको कारणबारे कुनै आकलन गरेका छैनौँ।”

उक्त विमान आकाशबाट तल ओर्लिरहेको बेला एअर कन्ट्रोलरहरूले चालकदलसँग बारम्बार सम्पर्क गर्न खोजेको भए पनि कुनै प्रतिक्रिया नआएको उनले जनाए।

उद्धारकर्मीहरूले बोइङ ७३७ विमानको जलेका भग्नावशेषहरू फेला पारेका छन्।

सरकारी टीभीहरूले घटनास्थलमा विमानमा सवार मानिसका जलेका चिठी, झोला, पर्स र परिचयपत्रको दृश्य प्रसारण गरेका थिए।

विमानमा सवार १२३ यात्रु र चालकदलका नौ सदस्यका परिवारजन र इष्टमित्रहरू पुचाउ र क्वान्चौं विमानस्थलमा भेला भएका छन् भने केही मानिसहरू युन्नान प्रान्तस्थित चाइना ईस्टर्नका कार्यालयमा पनि गएका छन्। केही यात्रुका आफन्तहरू दुर्घटनास्थलनजिकै अवस्थित लू गाउँ पुगेका छन्।

युन्नानको राजधानी खुन्मिङबाट उडेको उक्त विमानले सोमवार अपराह्ण क्वान्चौंमा अवतरण गर्नुपर्ने थियो। चाइना ईस्टर्नले ७३७(८०० मोडलका आफ्ना सबै बोइङ विमानहरूको उडान बन्द गरेको छ।

उसले दुर्घटनाग्रस्त विमानमा सवार मानिसबारे जानकारी दिन एउटा हटलाइन सुरु गरेको छ। बीबीसी

Facebook Comments