Sat. Sep 28th, 2024

प्रधानमन्त्री देउवा भन्नुहुन्छ, विधिको शासनमा वकिलको भूमिका महत्वपूर्ण छ

काठमाण्डौं, २०७८ पुस ८ गते बिहीबार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विधिको शासन र फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सरकारी वकिलको महत्वपूर्ण भूमिका भएको बताउनुभएको छ ।

महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुकमा विधिको शासन, मानवअधिकार, नागरिक अधिकार र कानूनको शासनका लागि सधै क्रियाशील हुन आग्रह गर्नुभयो ।

‘विधिको शासन, मानवअधिकार संरक्षण गर्ने कार्य स्थापना कालदेखि नै यो संस्थाले गर्दै आएको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘फौजदारी कानून, नागरिक अधिकार र कानूनी शासनको कार्यान्वयनका लागि व्यवसायिकरुपमा यो संस्थाले काम गर्दै आएको छ ।’

प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि संविधान र कानूनको क्षमताले भ्याएसम्म विशिष्टिकृत तरिकाले आफ्नो काम पूरा गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको समस्याले जनताले न्याय पाउने अधिकारबाटै वञ्चित हुनुपर्ने अवस्था आएको र यस्तो समय लामो सयम रहन नहुने भएकोले प्रतिपक्षीसँग छलफल गरी संसदीय प्रक्रियाबाट भएपनि निकास दिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।

लोकतन्त्र, मानवअधिकार, स्वतन्त्र न्यायापालिकाको रक्षाका लागि सरकारी वकिलको क्षमता वृद्धिका साथै दरबन्दीसमेत थप्नुपर्ने जरुरी रहेको र त्यसका लागि सरकारले सहयोगसमेत गर्न उहाँको आग्रह थियो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयको सुधार, भ्रष्टचार मुक्त न्यायपालिका निर्माणका आन्दोलनमा दुई महिनादेखि लागिरहेको र अव संसदीय प्रक्रियाबाट निकास दिनका लागि प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो । उहाँले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउनका लागि न्यायायको शिर उच्च हुनुपर्ने र त्यसका लागि सरकार र संसद गम्भीर हुुनुपर्नेमा जोड दिनुभयो । महान्यायाधविक्ता कार्यालयको स्थापना २००८ साल पुस ८ गते भएको थियो । सोही दिनको सम्झनामा २०७३ सालदेखि तत्कालिन महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले स्थापना दिवस मनाउने सुरुआत गर्नुभएको थियो ।

हाल सरकारी वकिल करिब ५०० रहेका छन् । कार्यालय सहयोगी र अन्य गरी एक हजार ५०० जना रहेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।गोरखापत्र अनलाईन

Facebook Comments