२०८३ भाद्र १०, बुधवार

भोटेकोशीमा भिषण बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, हिमताल फूटेर बाढी आएको हुनसक्ने मौसमविद्को भनाई

       

 काठमाण्डू ।  रसुवा जिल्लास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट भिषण बाढी प्रवेश गरेको छ। बाढीका कारण त्रिशूली नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका नुवाकोट, धादिङ, चितवन, गोरखालगायत जिल्लाका बासिन्दालाई उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

गोरखापत्र अनलाईनका अनुसार भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले नदी आसपास नजान, सुरक्षित स्थानमा बस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा अन्य जिल्लाबाट समेत थप जनशक्ति पठाइएको उहाँको भनाइ छ।

प्रधानमन्त्री शाहका अनुसार विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको छ। मेडिकल टोली, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटीलगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम अघि बढाउन निर्देशन दिइएको छ।

प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

यसैबीच जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाले भोटेकोशीमा बाढी नआएको स्पष्ट गर्नुभएको छ ।

बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भएको र त्यहाँ सात मिलिमिटरभन्दा बढी वर्षा नभएको उहाँले बताउनुभयो । उहाँले हिमताल फुटेको आशङ्का गर्दै अनुसन्धान गरिने जानकारी दिनुभएको राससले जनाएको छ ।

Facebook Comments