Fri. Sep 20th, 2024

मुगुमा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु

काठमाण्डौं, २०७८ असोज २६ गते मंगलबार । मुगुमा यात्रु बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट मुगुका लागि छुटेको भे १ ख ३१६७ नम्बरको यात्रु बस मुगु जिल्लाको राराछायानाथ नगरपालिका वडा नम्बर -७ पिना तपनेखोलामा आज दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनु भयो ।

प्रजिअ महतका अनुसार नेपालगञ्जबाट गाडीमा करिब ७० जना चढेको प्रारम्भिक विवरण छ। बीच बीचमा बस रोकेर यात्रु चढाएको हुन सक्ने भएकाले यात्रु सङ्ख्या त्यो भन्दा बढी हुनसक्ने अनुमान पनि गरिएको छ ।

बस भिरालोबाटोमा धेरै तल खोलामा खसेको महतले बताउनु भयो । प्रजिअ महतले भन्नुभयो, “हामी घाइतेलाई उद्धार गरेर विमानस्थल पुर्‍याउने र शव सङ्कलन गर्ने काम गरिरहेका छौँ।”

त्यस्तै दुर्घटनामा परी घाइतेमध्ये १५ जनालाई नेपाली सेना र समिट एयरको हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको उहाँले बताउनुभयो । साथै एक जनाको मुगु अस्पतालमै उपचार भइरहेको छ ।

उद्धार र शव सङ्कलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उहाँले बताउनु भयो ।

Facebook Comments