Sat. Sep 21st, 2024

जयसिंह धामीको परिवारका निम्ति भारतीय राजदूतसँग ग्रेटर नेपालले माग्यो भारू १ करोड क्षतिपूर्ति

काठमाण्डौं, २०७८ साउन ३२ गते सोमबार । महाकाली नदीमा भारतीय एसएसबीले तुईन काटिदिंदा मृत्यु भएका जयसिंह धामीको घटनामा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आइतबार भारतीय राजदूत विनयमोहन क्वात्रालाई ज्ञापनपत्र बुझाएको छ ।

भारत स्वतन्त्र भएकै दिन १५ अगस्तका दिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय एसएसबीले जुलाई ३० का दिन डोरी फुकालेपछि तुइन खुस्किएर महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका नेपाली नागरिक जयसिंह धामीबारे राजदूत क्वात्रालाई ध्यानकर्षण गराएको हो ।

ज्ञापनपत्रमा उल्लेख छ–सीमावर्ती नेपाली नागरिकहरूले स्वतन्त्रता र निर्भयतापूर्वक हिँड्न डुल्न नपाउनु सरासर मानव अधिकारको हनन हो । इन्डियाले यही नै गर्दै आइरहेको छ । जयसिंह धामीलाई बेपत्ता बनाउनुमा केवल एसएसबीको हात रहेको छ । जानीजानी कसैलाई मार्न अगाडि सर्नु जघन्य अपराध हो र यो अपराध एसएसबीबाट भएको छ । जयसिंह धामीलाई स्वतन्त्र रूपमा आवतजावत गर्नबाट एसएसबीले छलपूर्वक बाधा पुर्याएका कारण उनको हत्या हुनपुगेको हो । जयसिंह धामीको लास खोज्न महाकाली नदीको पश्चिमी किनारमा ड्रोन उडाउने अनुमति नदिनु इन्डियाको अमानवीय मात्रै होइन साह्रै घिनलाग्दो चरित्र हो । यसले इन्डिया आफ्ना छिमेकीमाथि जस्तोसुकै दुब्र्यवहार गर्न पछि पर्दैन भन्ने पुष्टि गरेको छ ।

साक्षी प्रमाणले जयसिंह धामीको हत्या एसएसबीले गरेका सन्दर्भमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा  यस जघन्य अपराधका निम्ति सार्वजनिक रूपमा माफी माग्न र जयसिंह धामीका परिवारलाई पारदर्शी रूपमा नेपाल सरकारमार्फत् कम्तीमा १ करोड इन्डियाली रूपैयाँ क्षतिपूर्ति दिन इन्डियाली सरकारसँग माग गर्दछ ।

मोर्चाले दिएको ज्ञापनपत्रमा उल्लेख छ-इन्डियाले स्वराज पाएको दिन १५ अगस्त १९४७ नेपालीका निम्ति पनि यस कारण महत्त्वपूर्ण छ, यस दिन सुगौली सन्धिमा गुमेको नेपालको ६०००० वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफल ब्रिटेनको उपनिवेशबाट स्वतन्त्र भएको थियो । यो नेपाली जमिनमा सन् १९४७ अगस्ट १५ देखि आजसम्म इन्डियाको उपनिवेश कायम रहँदै आएको छ । आजका दिन हाम्रो जमिन इमानदारीपूर्वक हामीलाई फर्काउन फेरि पनि आग्रह गर्दछौँ ।

स्वतन्त्रता मानव जातिलाई सबैभन्दा प्यारो हुन्छ भन्ने हेक्का नराख्नु इन्डियाको ठूलो कमजोरी हो । भारतीय एसएसबीले तुइनको डोरी फुस्काएर धामीको मृत्यु हुनु दुःखशद पक्ष हो, भारतीय हेपाहा प्रवृत्ति हो तसर्थ भारतले माफी माग्नुपर्छ । र, १ करोड भारु क्षतिपूर्ति तिर्नुपर्छ । मोर्चाको बिज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments