Sat. Sep 21st, 2024

नेपाल-भारत निरीक्षण संयन्त्र बैठक

- परियोजनाको प्रगति समीक्षा

काठमाण्डौं, २०७८ भदौं १ गते मंगलबार । नेपाल-भारत निरीक्षण संयन्त्रको नवौँ बैठकले द्विपक्षीय आर्थिक तथा विकास सहयोगअन्तर्गत कार्यान्वयनमा रहेका परियोजनाको प्रगति समीक्षा गरेको छ ।

काठमाडौँमा सोमबार बसेको बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र भारतका तर्फबाट नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त अध्यक्षता गर्नुभएको थियो ।

बैठकमा तराई सडकमार्ग, सीमापार रेल-वे, अरुण तेस्रो जलविद्युत् आयोजना, पेट्रोलियम उत्पादन पाइपलाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भूकम्पपछिको पुनर्निर्माण, सिँचाइ, विद्युत् परियोजनालगायत सबै चलिरहेका परियोजनाको कार्यान्वयनको स्थितिका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै दुई देशबीचको विद्युत् प्रसारण लाइन, नेपाल पुलिस एकेडेमी निर्माण, एकीकृत जाँच चौकी, रामायण सर्किट, महाकाली नदीमा मोटरेबल पुल, कृषि तथा सांस्कृतिक सम्पदालगायतका क्षेत्रमा भएको साझेदारीको प्रगति समीक्षा गरिएको छ । कार्यान्वयन हुन बाँकी नेपाल-भारत द्विपक्षीय परियोजनाहरूको छिटो कार्यान्वयनको आवश्यकतालाई दुवै पक्षका प्रतिनिधिमण्डलले बैठकमा जोड दिएको जनाइएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा सम्बन्धित आयोजना कार्यान्वयनका लागि जिम्मेवार निकायका उच्चाधिकारी तथा भारतीय प्रतिनिधिमण्डलमा भारतीय दूतावासका उच्चाधिकारी र परियोजना कार्यान्वयन निकायका पदाधिकारीको सहभागिता थियो । सन् २०१६ मा द्विपक्षीय परियोजनाको कार्यान्वयनको निरीक्षण र समयमा काम पूरा गर्नका लागि आवश्यक संयोजन गर्ने गरी यो संयन्त्र स्थापना गरिएको थियो । संयन्त्रको १०औँ बैठक आपसी सहमतिमा तोकिएको मितिमा हुने मन्त्रालयले स्पष्ट पारेको छ । गोरखापत्र अनलाईन

Facebook Comments