Fri. Sep 20th, 2024

कोभ्याक्स अन्तर्गत अस्ट्राजेनिकाको खोप तीन हप्ताभित्र नेपालले पाउने

काठमाडौं, २०७८ असार २३ गते बुधबार । कोम्याक्स सुविधा अन्तर्गत नेपालले पाउने अस्ट्राजेनिकाको खोप यही जुलाइको अन्त्यसम्म अर्थात आगामी तीन हप्ता भित्र नेपालले पाउने भएको छ ।

तर त्यो खोप कुन मितिमा नेपाल आपुग्छ भन्ने मिति भने तय हुन बाँकी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखा प्रमुख डा.तारानाथ पोखरेलले कोम्याक्स सुविधा अन्तर्गतको अस्ट्राजेनिकाको खोप यही जुलाई महिनाको अन्त्यसम्ममा नेपाललाई उपलब्ध गराउने निर्णय भइसकेको भए पनि कुन मिति र समयमा नेपाल आइपुग्छ भन्ने तय हुन बाँकी रहेको बताउनुभयो ।

उहाँले नेपालले अस्ट्राजेनिकाको १५ लाख डोज खोप उपलब्ध गराउन आग्रह गरको भए पनि कोम्याक्स सुविधा अन्तर्गत तीन लाख ५० हजार देखि १५ लाख मात्रासम्म खोप यो जुलाइको अन्त्यसम्म नेपालमा आइपुग्ने बताउनुभयो ।

अस्ट्रजेनिकाले उपलब्ध गराउने खोप यस अघि भारतले उपलब्ध गराएको कोभिसिल्ड खोप एउटै कम्पोजिसनबाट बनेकाले कोभिसिल्ड पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिका लागि लगाउन सकिनेछ ।

नेपालमा २५ लाख ८१ हजार १९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसमध्ये सात लाख ४५ हजार ७४४ जनाले मात्रै दोस्रो डोज (मात्रा) खोप लगाएका छन् । यो सङ्ख्या पहिलो डोज खोप लगाउनेको २८.९ प्रतिशत मात्रै हो । बाँकी ७१.१ प्रतिशतले अहिलेसम्म दोस्रो खोप पाएका छैनन् ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप लगाएर नेपालमा २०७७ माघ १४ देखि कोरोनाविरुद्धको खोप अभियान शुरु गरिएको थियो । हालसम्म १८ लाख १२ हजार ६२८ जनाले कोभिसिल्डको पहिलो डोज खोप लगाएका छन् । गोरखापत्र अनलाईन

Facebook Comments