२०८३ कार्तिक १७, मंगलवार

युद्धमा फर्कदा कसैलाई फाइदा हुँदैन: इरानी राष्ट्रपति   

       

तेहरान ।  ‘स्ट्रेट अफ होर्मुज’मा पर्ने इरानी टापुमा अमेरिकी आक्रमण भएको खबर सार्वजनिक भएको केही घण्टापछि इरानका राष्ट्रपति मसुद पेजेस्कियनले मङ्गलबार युद्ध पुनः सुरु हुँदा कसैलाई फाइदा नहुने बताउनुभएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूले होर्मुजस्थित केसम टापुमा अमेरिकी आक्रमण भएको जनाएका छन् । तर अमेरिकी सेन्ट्रल कमान्डले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

पेजेस्कियनले आफ्नो सरकार अझै पनि वार्तामार्फत सङ्कट समाधान गर्ने पक्षमा रहेको बताउनुभयो । इरानका सर्वोच्च नेताले यसअघि वार्ताको दायराभन्दा बाहिर राखिएका विषयमा समेत छलफल गर्न सरकारलाई नयाँ अधिकार दिएको उहाँको भनाइ छ ।

इरानका प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफले भने देश युद्धका लागि तयार रहेको चेतावनी दिनुभएको छ । उपविदेशमन्त्री काजेम घारिबाबादीले पनि अमेरिकी आक्रमणपछि इरानसँग आत्मरक्षाको वैध अधिकार सुरक्षित रहेको बताउनुभएको छ ।

अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नल, सीएनएन र न्युयोर्क टाइम्सले नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै केसम टापुमा भएका आक्रमण रक्षात्मक प्रकृतिका रहेको जनाएका छन् । इजरायली सेनाले भने उक्त आक्रमणमा आफ्नो सङ्गलग्नता नरहेको स्पष्ट पारेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने बताउनुभएको छ । ‘इरान जतिसक्दो चाँडो समाधान चाहन्छ,’ उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभएको छ ।

इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार केसम टापुमा पाँचवटा विस्फोट भएका थिए । स्थानीय बासिन्दाले आकाशमा दुईवटा विमान उडिरहेको देखेको बताएका छन् । गालिबाफले अब युद्ध रोक्ने वा अघि बढाउने निर्णय अमेरिकाको हातमा रहेको बताउनुभएको छ ।

अमेरिका र इरानबीच अप्रत्यक्ष वार्तामा मध्यस्थता गरिरहेको कतारले पनि सम्झौताको सम्भावना कायमै रहेको जनाएको छ । कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले दुवै पक्ष वार्ताप्रति प्रतिबद्ध रहेको र प्रस्तावहरूको आदानप्रदान भइरहेको बताउनुभयो । कतारले अन्तरिम सम्झौताका लागि प्रयास गरिरहेको उहाँको भनाइ छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता जारी रहेको पुष्टि गर्नुभएको छ । वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै परामर्श र छलफल तीव्र बनाइएको उहाँले बताउनुभएको छ ।

यसैबीच, इरानले आफ्ना माग पूरा भए दुई दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्न सकिने सङ्केत दिनुभएको छ । विश्वको प्रमुख तेल तथा ग्यास आपूर्ति मार्गमध्ये एक मानिने उक्त जलमार्ग खुलाउन इरानले रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा, तेलमाथिका प्रतिबन्ध हटाउने र इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्नुपर्ने माग राखेको छ ।

इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले दुई दिनभित्र जलमार्ग खोल्न सकिने प्रस्तावलाई इरानको सदाशयताको प्रमाणका रूपमा व्याख्या गर्नुभएको छ ।

यद्यपि ट्रम्पले इरानमाथि थप आक्रमण हुन सक्ने चेतावनी दिँदै आउनुभएको छ । उहाँले मध्य इरानस्थित ‘पिकएक्स माउन्टेन’ नामक सम्भावित आणविक स्थललाई पनि सम्भावित निशानाका रूपमा उल्लेख गर्नुभएको छ । तेहरानले भने त्यहाँ आणविक सुविधा रहेको दाबी अस्वीकार गर्दै आएको छ ।

यसैबीच, इरानी अधिकारीहरूले अमेरिकी आक्रमण पुनः सुरु भए व्यापक प्रतिकार गर्ने चेतावनी दिएका छन् । तेहरानमा अमेरिकी राष्ट्रपति ट्रम्पको तस्बिरसहित ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको विशाल होर्डिङ बोर्ड राखिएको एएफपीले जनाएको छ । एएफपी

Facebook Comments