Mon. Apr 29th, 2024

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नभाल्नीको ‘केही दिनभित्र ज्यान जान सक्ने’ चिकित्सकको चेतावनी

काठमाडौं, २०७८ बैशाक ५ गते आईतबार । उपचारमा ध्यान नदिइए कारागारमा रहनु भएका रुसी विपक्षी अभियानकर्मी एलेक्सी नभाल्नीको “केही दिनभित्र ज्यान जान सक्ने” उहाँका चिकित्सकले बताएका छन्। चिकित्सकहरूका अनुसार हालै गरिएका रगत परीक्षणका नतिजाले उहाँ हृदयाघात अथवा मिर्गौलाले काम गर्न नसक्ने अवस्थाको शिकार हुन सक्ने देखाएका छन्।

ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै विगत १८ दिनदेखि नभाल्नी अनशनरत हुनुहुन्छ । अमेरिकी राष्ट्रपति जो बाइडनले जेलमा रहनु भएका नभाल्नीको अवस्थालाई “पूर्णतः अन्यायपूर्ण र अनुपयुक्त” भन्नुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी पुराना अभियोगहरूमा गत फेब्रअरी महिनामा जेल पठाइएको थियो।

परीक्षण गराउन माग
तत्काल नभाल्नीलाई हेर्ने अनुमति माग्दै उहाँकी निजी चिकित्सक डा. अनास्तासिआ भसिलिएभासहित चारजना चिकित्सकले कारागार अधिकारीहरूलाई पत्र लेख्नु भएको हो ।

डा. भसिलिएभाले सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेको पत्रमा विज्ञहरूका अनुसार नभाल्नीको शरीरमा पोटासियमको मात्रा “गम्भीर तहमा” पुगेको उल्लेख गरिएको छ। त्यसको अर्थ कुनै पनि समय मिर्गौलाको काम र मृटुको धडकनमा गम्भीर समस्या हुनसक्ने बताइएको छ।

रगतमा पोटासियमको तह प्रतिलिटर ६.० मिलिमोल्सभन्दा बढी भएपछि सम्बन्धित मान्छेलाई तत्काल उपचार गराउनुपर्ने हुन्छ। नभाल्नीका वकिलहरूमार्फत् उपलब्ध गराइएको रगत परीक्षणको नतिजाअनुसार उहाँको रगतमा पोटासियमको तह प्रतिलिटर ७.१ रहेको पत्रमा उल्लेख छ। बिबिसी

Facebook Comments