Mon. Apr 29th, 2024

सत्ता समीकरणमा काँग्रेसको प्रस्ताव प्रष्ट छैन-महन्थ ठाकुर

काठमाडौं, २०७७ चैत २९ गते आईतबार जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राखेको नयाँ सरकार निर्माणबारेको प्रस्ताव प्रष्ट नभएको बताउनुभएको छ । आइतबार अध्यक्ष ठाकुरले काँग्रेसले नयाँ सरकार निर्माणको पहल गरे पनि स्पष्टसँग छलफल नभएको बताउनुभएको हो ।

पछिल्लो समय चैत २७ गते काँग्रेसले सत्ता समीकरणको विषयमा नेकपा माओवादी केन्द्र र जसपासँग बैठक बसेको थियो । तर, जसपा अध्यक्ष ठाकुरले भने गठबन्धको सरकार निर्माणबारे आफूहरुको पार्टीमा कुनै तयारी नभएको जानकारी दिनुभयो । त्यसो त, प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरिहाल्न पनि आफूहरुको हातखुट्टा बाँधिएको छ, अध्यक्ष ठाकुर बताउनुहुन्छ । प्रधानमन्त्री ओलीले पहिलेदेखि नै सरकारमा आउन आव्हान गर्दै आउनुभएको बताउदै ठाकुरले आफूहरुको माग पूरा भए यसबारे पार्टीमा छलफल गर्न सकिने बताउनुभएको छ ।

अहिलेको अवस्थामा भने जसपा न्युट्रल रहने उहाँले बताउनुभयो । अहिले संसदमा सत्तारुढ नेकपा एमालेको कोही पनि सांसदले एमाले नछोडेको पनि उहाँले थप बताउनुभयो । प्रधानमन्त्री ओली र गठबन्धनको सरकार दुवै बन्न नसके चुनाव पनि अन्तिम विकल्प हुने उहाँले गोरखापत्र अनलाईनसँग बताउनुभएको छ ।

Facebook Comments