Sat. Apr 20th, 2024

बेलायतका राजकुमार फिलिपकोअन्तिम संस्कार आउँदो शनिबार गरिने

काठमाडौं, २०७७ चैत २९ गते आईतबार बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार यही अप्रिल १७ तारिख शनिबार गरिने भएको छ । ९९ वर्षको उमेरमा शुक्रवार निधन हुँनुभएका राजकुमार फिलिपको अन्तिम संस्कारका लागि तयारी भइरहेको छ। अन्तिम संस्कारको औपचारिक शाही समारोह विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्ज च्यापलमा हुने र टेलिभिजनमार्फत् उक्त समारोह देखाइने भएको छ ।

अन्तिम संस्कार कहाँ हुनेछ ?
राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न अनुरोध गरेको बताइएको छ। उहाँको शवपेटिकालाई सर्वसाधारणहरूले हेर्न पाउनेगरी राखिनेछैन। बरु त्यसलाई अन्तिम संस्कारको दिनसम्म विन्डसर कासलको निजी च्यापलमा राखिनेछ। ड्यूकको शवपेटिकामा उहाँको निजी झण्डा ओढाइनेछ। उक्त झण्डाले उहाँको ग्रीक धरोहरदेखि ब्रिटिश राजपरिवारसम्मको उहाँको नाता प्रतिविम्बित गर्नेछ। शवपेटिकामा पुष्पगुच्छा पनि राखिएको छ। तात्कालिक राजकुमारी एलिजाबेथसँग विवाह गर्ने क्रममा सन् १९४६ मा फिलिपले आफ्नो ग्रीक पदवी त्यागेर ब्रिटिश नागरिक बन्नु भएको थियो । त्यस क्रममा उहाँले आफ्नी आमाको थरलाई पारिवारिक नाम ब्याटनबर्गको अङ्ग्रेजीकरण गर्दै माउन्टब्याटन गराउनु भएको थियो । शवपेटिकामा जलसेनाको उहाँको टोपी र खड्ग पनि राखिनेछ।

 

त्यस दिन के हुनेछ?

औपचारिक रूपमा हुने ड्यूकको अन्तिम संस्कार राजकीय भने हुनेछैन। राजकीय अन्तिम संस्कार विशेषतः राजगद्दी प्रमुखका लागि हुने गरेको भए पनि यसअघि युद्धकालीन समयका प्रधानमन्त्री विन्स्टन चर्चिललाई पनि उक्त सम्मान दिइएको थियो। कोरोनाभाइरसका प्रतिबन्धका कारण अन्तिम संस्कारमा सहभागी हुने व्यक्तिको सङ्ख्या यसअघिको भन्दा निकै कम गरिएको छ। यद्यपि राजदरबारले त्यसमा ड्यूकको “इच्छा झल्किनेु तर पनि त्यसमा उहाँको सार्वजनिक सेवा जीवनको”उत्सव र झल्कोु मिल्ने जनाएको छ।

अन्तिम संस्कार हुने दिन उहाँको शवपेटिकालाई निजी च्यापलबाट विन्डसर कासलको राजकीय प्रवेशद्वारमा सारिनेछ। छोटो दूरी भए पनि सेन्ट जोर्ज च्यापलसम्म ड्यूक आफैँले त्यसलाई परिमार्जनसहित डिजाइन गर्न सघाएको ल्यान्ड रोभर कारमा राखेर लगिनेछ। शवयात्रा आठ मिनेटको हुनेछ। त्यसमा त्यहाँ जनसेना र अन्य रेजिमेन्टहरू पनि सहभागी हुनेछन्। शवयात्रामा प्रिन्सेस अफ वेल्स राजकुमार चार्ल्ससहित राजपरिवारका सदस्यहरू सहभागी हुनुहुनेछ । तर महारानी भने छुट्टै च्यापलसम्म पुुग्नु हुनेछ । अन्तिम संस्कारका बेला सैन्य तोप पड्काइनुका साथै कर्फ्यूको घण्टी बजाइनेछ। राष्ट्रिय गीतसहित गार्ड अफ अनर दिइनेछ।

अन्तिम संस्कारमा को-को सहभागी हुँदैछन्?

कोरोनाभाइरससम्बन्धी प्रतिबन्धहरूका कारण इङ्ग्ल्यान्डमा सामाजिक दूरी कायम गर्दै ३० जना मानिसहरू मात्र एक ठाउँमा भेला हुन पाउँछन्। राजकुमार फिलिपको अन्तिम संस्कारमा सहभागी हुने परिवारजन वा आमन्त्रित व्यक्तिको विवरण अझै सार्वजनिक नगरिएको भए पनि अन्तिम संस्कारका बेला सहभागी हुने मण्डली र सैनिकहरूलाई उक्त सङ्ख्यामा गणना गरिनेछैन।

उहाँका नाति राजकुमार ह्यारी उक्त समारोहमा सहभागी हुनुहुनेछ तर गर्भवती रहनु भएकी श्रीमती मेगन भने चिकित्सकहरूको सल्लाहमा अमेरिकाबाट नआउने हुनुभएको छ । कोभिडसम्बन्धी नियमकाबीच राजपरिवारका सदस्यहरू यथाशक्य अधिक सङ्ख्यामा सहभागी हुन सकून् भनेर प्रधानमन्त्री बोरिस जोन्सन भने सहभागी नहुने डाउनिङ स्ट्रीटले जनाएको छ। सन् २०१० यता राजकुमार फिलिपका निकट सहयोगीका रूपमा काम गर्नुभएका उहाँका निजी सचिव ब्रिगेडियर आर्ची मिलर-बेइक्वेल मात्र सम्भवतः अन्तिम संस्कारमा सहभागी हुने राजपरिवारबाहिरका थोरैमध्ये वा एक्लो व्यक्ति हुनुहुनेछ ।

त्यसपछि के हुन्छ?

संयुक्त अधिराज्यमा चलिरहेको राष्ट्रिय शोकको अवस्था अन्तिम संस्कार पनि अन्त्य हुनेछ। सबै सरकारी भवनहरूमा सङ्घ र राष्ट्रिय झण्डाहरू आधा झुकाइनेछ। महारानी नबस्ने राजभवनमा पनि झण्डा आधा झुकाइनेछ। राजपरिवारले दुई साताको शोक मनाउनेछ। तर राजपरिवारका सदस्यहरू अन्य गतिविधिमा सहभागी हुन सक्छन्। उनीहरूले आवश्यकताअनुसार शोक झल्किने कालो रङ्गको पहिरन लगाउनेछन्। राजकुमार फिलिपप्रति सम्मान प्रकट गर्न इङ्ग्ल्यान्ड, स्कटल्यान्ड र वेल्सका मुख्य राजनीतिक दलहरूले अर्को महिना हुने चुनावको प्रचारप्रसार कार्यक्रम अस्थायी रूपमा रोकेका छन्।

सर्वसाधारणहरू कसरी सहभागी होलान् ?

स्वास्थ्यलाई कारण बताउँदै सर्वसाधारण नागरिकहरूलाई अन्तिम संस्कारका कुनै पनि कार्यक्रममा सहभागी हुने प्रयास नगर्न भनिएको छ। राजपरिवारले शाही निवासमा फूल वा अन्य प्रकारका सामग्री छाडेर शोक प्रकट नगर्न आग्रह गरेको छ। राजपरिवारको वेवसाइटमा बरु त्यसबापतको रकम दान दिन भनिएको छ। व्यक्तिगत रूपमा सम्मान व्यक्त गर्नका लागि श्रद्धाञ्जलिको अनलाइन पुस्तिका समेत तयार पारिएको छ। बकिङ्घम राजदरबारबाहिर ड्यूकको मृत्युको घोषणा गरिएको बोर्ड राखिएको भए पनि त्यसले भिड गराउने ठानेर पछि हटाइएको थियो। बिबिसी

Facebook Comments