Sat. Apr 27th, 2024

नेपालमा गैँडाको संख्या ७५२ पुग्याे, पाँच वर्षमा १०७ गैँडा बढे

काठमाडौं, २०७७ चैत २९ गते आईतबार विश्वमै दुर्लभ मानिएको एकसिँगै गैँडाको संख्या नेपालमा ७५२ पुगेको छ । झण्डै पाँच वर्ष पछि भएको एकसिँगे गैँडाको राष्ट्रिय गणनामा गैँडाको संख्या अघिल्लो गणना भन्दा १०७ बढेको छ । यस अघि सन् २०१५ मा गरिएको गणनामा गैँडाको कुल ६४५ संख्या रहेको थियो ।

शनिवार चितवनमा सार्वजनिक गरिएको यो संख्या चितवन राष्ट्रिय निकुञ्जमा ६९४ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा रेकर्ड गरिएका छन् । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडाको संख्या रेकर्ड गरिएको छ । पछिल्लो पाँच वर्षमा पर्सा बाहेक अरु राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या निकै सन्तोषजनक रुपमा वृद्धि भएको छ भने पर्सामा सन् २०१५ को संख्या जस्तै तीन वटा मात्र गैँडा भेटिएका छन् । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले यो संख्या सार्वजनिक गर्नुभएको हो । यसअघि सन् २०१५ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६०५, बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ वटा र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा रेकर्ड गरिएका थिए ।

यस वर्ष यही चैत ९ गतेबाट पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई मिलाएर एउटै कलष्टर बनाई गैँडा गणनाको शुभारम्भ गरिएको थियो । यी दुई निकुञ्जलाई नौ वटा ब्लकमा विभाजन गरेर गणना गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १८ गतेबाट र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १९ गतेबाट गणना सुरु गरिएको थियो । गैँडा गणना गर्दा गैँडाको आहारको अवस्था, पानीको स्रोत तथा घाँसे मैदानको अवस्था, गैँडा बासस्थानको चुनौती, गैँडाको प्रजननको अवस्था लगायतका कुराहरुको पनि अध्ययन गरिएको इकोलोजिष्ट आचार्यले बताउनुभयो । गैँडा गणनामा चितवनमा ३० वटा हात्ती, बर्दियामा १० वटा हात्ती र शुक्लाफाँटामा ६ वटा हात्तीको प्रयोग गरी २०० जना भन्दा बढी दक्ष जनशक्तिको प्रयोग गरिएको थियो ।

गणना गर्दा ज्यान गयो
गैँडा गणना गर्ने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा मचान क्षेत्रमा बाघको आक्रमणमा परी गैँडा गणनामा सहभागी हात्ती माउते पुलिसराम चौधरीको मृत्यु भएको छ । आक्रमण गर्ने समस्याग्रस्त बाघलाई तत्काल डार्ट गरी ललितपुरको सदरचिडियाखानमा राखिएको छ । त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा ध्रुबे हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति कोषका संरक्षण अधिकृत बिनोद श्रेष्ठ लगायतका चार जना घाइते हनुभएको छ । ढाड र टाउकोमा गम्भीर चोट लागेपछि श्रेष्ठको काठमाडौँको हयाम्स अस्पतालमा अपरेशन पछि हाल उपचार भइरहेको छ । गोरखापत्र

Facebook Comments