Wed. May 1st, 2024

वासुदेव त्रिपाठीलाई पाँच लाखसहित महासमालोचकको उपाधि

काठमाडौं, २०७७ चैत २३ गते सोमबार  नइ प्रकाशनको रजत महोत्सवका अवसरमा प्रा.डा. वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधिसहित पाँच लाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ले विभूषित गर्ने निणर्य भएको छ ।

मोतीराम भट्टबाट थालिएको समालोचनाको परम्परालाई आधुनिक युगमा विविधतापूर्ण, बहुआयामिक र समन्वयवादी दृष्टिले गतिशील, समृद्ध र उन्नत तुल्याई एक युगकै केन्द्रीय प्रतिभाका रूपमा भूमिका निर्वाह गरेवापत प्रा.डा.त्रिपाठीलाई महासमालोचकको सम्मानसहित पाँचलाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ले सम्मान गर्ने निणर्य भएको हो ।

‘नइ रजत महोत्सव’का अध्यक्ष वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको अध्यक्षतामा आज बसेको बैठकले सो निणर्य गरेको हो । आजकै बैठकद्वारा प्रा.डा.उषा ठाकुर ‘नइ रजत महोत्सव’को उपाध्यक्षमा मनोनीत हुनुभएको छ ।

नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले दिनुभएको जानकारी अनुसार  महासमालोचकको उपाधि समर्पण गरिने समारोहमा प्रा.डा. त्रिपाठीलाई देशदेशान्तरबाट सार्वजनिक अभिनन्दन पनि अर्पण गरिने छ । नइ प्रकाशनकै सिफारिस, पहल र अनुरोधमा नेपाल सरकारबाट डा.माधवप्रसाद घिमिरेलाई राष्ट्रकवि र डा.सत्यमोहन जोशीलाई वाङमय शताब्दी पुरूषको उपाधि प्रदान गरेको हो ।

Facebook Comments