Thu. Sep 19th, 2024

मनाङमा भएको ट्रक दुर्घटनामा मृत्युहुनेहरुको संख्या ५ पुग्यो (अपडेट)

काठमाडौं, २०७७ चैत ८ गते आईतबार  मनाङको नासों गाउँपालिका ३ खोत्रोमा भएको ट्रक दुर्घटनामा मृत्युहुनेको संख्या ५ पुगेको छ । लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खोत्रोमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार दुर्घटनामा परी नासों गाउँपालिका ४ ओडारका ३५ बर्षीया मनिसा गुरुङ, उहाँकी बहिनी २६ बर्षीया जलकाशी गुरुङ र मनिसाका छोरा अन्दाजी ६/७ बर्षीय लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको हो । सहचालक मस्र्याङदी गाउँपालिका ५ घेर्मु खोरियाखेतका २१ बर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ ओडारका २८ बर्षीय धनमान विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको हो । नेपाली र विश्वकर्मालाई उपचारका लागि बेंसीसहरको जिल्ला अस्पताल लमजुङमा ल्याइएको थियो । उपचारको क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो ३ः२० बजेतिर दुर्घटना भएको हो । सिमेन्ट बोकेर ल्याएको ट्रक उकालो चढ्न लाग्दा अनियन्त्रित भई सडकबाट मस्र्याङदी नदीमा खसेको थियो । सडकबाट करिव ४० मिटर तल मस्र्याङदी नदीमा ट्रक खसेको प्रनाउ खड्काले बताउनुभयो ।दुर्घटनामा परी ट्रकका चालकसहित तीन जना घाइते भएका छन् ।

चालक तथा सवारी धनी लमजुङ घर भएका तनहुँको भानु नगरपालिका ३ का सुमन तामाङ, नासों गाउँपालिका ४ का अन्दाजी ३ बर्षीय थिउन गुरुङ, सोही वडाका अन्दाजी ६/७ बर्षीय निहल गुरुङ घाइेत हुनुुभएको छ । उहाँहरुको जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

नासों गाउँपालिका वडा नंं. ३ का अध्यक्ष मीनबहादुर गुरुङका अनुसार बेंसीशहरबाट सिमेन्ट बोकेर चामे जाँदै गरेको ट्रक खोक्रोमा दुर्घटना भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले घाइतेको नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानीयले उद्दार गरेको बताउनुभयो । साथै उहाँले घटनाको जानकारी पाउने वित्तिकै उद्दारमा खटिएको पनि बताउनुभयो । गोरखापत्र

Facebook Comments