Thu. Sep 19th, 2024

“म अध्यक्ष भएको भए फोनमा हैन, घरमै जाने थिएँ, ढोका खोलेर बेडरुममा पसेर कमरेड किन रिसाउनु भएको भन्दै गाला मुसार्ने थिएँ”- नेता नेपाल

काठमाडौं, २०७७ चैत ८ गते आईतबार नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टी र देशकै अभिभावक (गार्जियन) भएकाले नेता कार्यकर्तालाई फकाउने काम उहाँको भएको बताउनुभएको छ । तर उहाँले नेता कार्यकर्ता फकाउनेतिर नलागेको उहाँले टिप्पणी गर्नुभयो । शनिवार काठमाडौंमा आयोजित आफ्नो पक्षको युवा भेलामा नेता नेपालले त्यस्तो बताउनुभयो ।

उहाँले भन्नुभयो, “म अध्यक्ष भएको भए फोनमा हैन, घरमै जाने थिएँ । धोका खोलेर बेडरुममा पसेर कमरेड किन रिसाउनु भएको भन्दै गाला मुसार्ने थिएँ । फकाउन म जान्दछुँ नि । अध्यक्षको काम हो नि फकाउने, अध्यक्ष भनेको अभिभावक पनि हो ।” अध्यक्षको जिम्मेवारी अभिभावकको भूमिका पनि हो उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीसँग आफ्नो ४८ वर्षको मायापिरती भएको बताउनुहुँदै एक रातमा सम्बन्ध समाप्त नहुने चर्चा गर्नुभयो । “सर्वोच्चको फैसलाले जन्मेको बच्चालाई गर्भमा लिएर जाउ भनेजस्तो फैसला भयो” उहाँले टिप्पणी गर्नुभयो । नयाँ संगठन अस्तित्वमा आइसक्दा पनि अदालतले मान्दैन भनेपछि हामी बाध्य भएर लागु गरेको उहाँले बताउनुभयो ।

यद्यपि फैसला गलत भएको उहाँले टिप्पणी गर्नुभयो । निर्वाचन आयोगले नेकपालाई बैधानिकता दिइसकेको, नेपाल राजपत्रमा प्रकाशित भइसकेको, सोही पार्टीको नामले निर्वाचन भइसक्दा समेत सर्वोच्च अदालत विचित्रको फैसला गरेर पार्टी रद्द गरेको उहाँले बताउनुभयो ।

नाम फेर्न पो भन्ने हो, एकताको कुरै मान्दैनौं भनिदियो उहाँले टिप्पणी गर्नुभयो । “हामी ओलीसँग छुट्टिने पक्षमा छैनौं, मिलेर अघि बढ्नेछौं” पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले भन्नुभयो, “हामी सँगै जाने पक्षमा छौं । हामी केपी ओलीसँग छुट्टिने पक्षमा छैनौं, उहाँसँग ४८-४९ वर्षको मायापिरती हो, थाहा छ ?” यद्यपि अध्यक्ष ओलीले आफ्नो जिद्दी त्याग्नुपर्ने उहाँले बताउनुभयो ।  पार्टी अध्यक्षको छाति फराकिलो र सबैलाई समेटेर लग्ने आँट हुनुपर्ने उहाँले चर्चा गर्नुभयो । गोरखापत्र

Facebook Comments