“चीनले बीबीसीलाई किन प्रतिबन्ध लगायो?”-चेतनाथ आचार्य
- हङकङको विरोध प्रदर्शन र सिनचियाङ सम्बन्धी रिपोर्ट मुख्य कारण
पैचिंग, जनगणतन्त्र चीन, २०७७ चैत १ गते आईतबार।
गत फेब्रुअरी १२ तारिख शुक्रबार चिनियाँ नयाँ वर्षको पहिलो दिन थियो। परम्परागत चिनियाँ पात्रो अनुसार फेब्रुअरी ११ तारिख मध्यरातिदेखि चिनियाँहरुले मुसा वर्षलाई बिदा गरेर गोरु वर्ष भित्र्याउँदै थिए। सो अवसरमा चिनियाँ सञ्चार समूह अर्थात् चाइना मिडिया ग्रुपले भव्य सांगीतिक गालाको आयोजना गरेको थियो। सो सांगीतिक गालाको प्रत्यक्ष प्रसारणका लागि बीबीसी मिडियाले पनि आवेदन गरेको थियो।
चिनियाँ नयाँ वर्षको सांगीतिक गालालाई प्रसारण गर्नका लागि विश्व प्रतिष्ठित थुप्रै सञ्चार संस्थाहरुले आवेदन दिएका थिए त्यसमध्ये बीबीसी पनि एक थियो। विश्वभरका मान्छेले चिनियाँ नयाँ वर्षको सांगीतिक गालालाई बीबीसीको टेलिभिजन स्क्रिनमा हेर्न पाउनु त कता हो कता त्यही साँझदेखि चीनमा बीबीसीमाथि प्रतिबन्ध लगाइयो। ‘गोरु वर्षको पहिलो टार्गेट बीबीसी’ भन्दै फेब्रुअरी १२ तारिख चिनियाँ सञ्चारमाध्यममा बेलायत र बीसीसीलाई व्यङ्ग्य गरी समाचार प्रकाशन भयो। कुनै बेला कहिल्यै सूर्य नअस्ताउने विस्तारवादी मुलुकका रुपमा बेलायतलाई चिनिन्थ्यो र भनिन्थ्यो ‘जोनबुल’ अर्थात् विश्वको शासन गर्ने साँढे। चीनमा साढेँ वर्ष सुरु हुँदै गर्दा त्यही ‘जोनबुल’ प्रतिबन्धित भयो।
चीनले सुधार र खुलापन अँगालेको चार दशक नाघिसकेको छ। चीनमा धेरै कुराहरु दिनानुदिन खुकुला हुँदै आएका छन्। सञ्चार क्षेत्रमाथि प्रतिस्पर्धात्मक र आलोचनात्मक चेत फैलिरहेको छ। चिनियाँ सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा चीन सरकार तथा चिनियाँ प्रशासनको आलोचना गरेको पाउनु अब सामान्य भइसक्यो। चीनको कडा आलोचना गर्ने अमेरिकी सञ्चार संस्था सीएनएन अहिले पनि चीनमा निर्वाद प्रसारण भइरहेको छ।
त्यसो भए बीबीसीमाथि किन प्रतिबन्ध लगायो चीनले ? यसको पृष्ठभूमि थाहा पाउन आवश्यक छ। सञ्चार क्षेत्रमाथि प्रतिबन्ध लगाउने कामको सुरुवात चीनभन्दा पहिले बेलायतले गरेको हो। चीनले बीबीसीमाथि प्रतिबन्ध लगाउनुभन्दा एक साता अगाडि फेब्रुअरी ४ तारिख बेलायतले चिनियाँ सञ्चार संस्था सीजीटीएन (चाइना ग्लोबल टेलिभिजन नेटवर्क) लाई बेलायतमा प्रसारण गर्न प्रतिबन्ध लगाएको थियो। बेलायती सञ्चार कार्यालय अर्थात ‘अफकम’ (अफिस अफ कम्युनिकेशन)ले सीजीटीएनमा सम्पादकीय स्वतन्त्रता नभएको र चीनको सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको नियन्त्रणमा रहेको भन्दै बेलायतमा प्रशारण गर्ने लाइसेन्स रद्द गरेको थियो। प्रजातन्त्रको जननी, वाकस्वतन्त्रताको प्रतीक, दुनियालाई स्वतन्त्र पत्रकारिताको पाठ पढाउने ठेकेदारका रुपमा आफूलाई उभ्याउने बेलायतले सीजीटीएनलाई कथित आरोप लगाएर कारवाही गर्नु लज्जाजनक हो। हुनतः बेलायतले सीजीटीएनलाई मात्र होइन अन्य युरोपेली सञ्चार संस्थाहरुमाथि पनि प्रतिबन्ध लगाएको छ।
सन् २०१८ मा सीसीटीभीले अन्तर्राष्ट्रिय जगतका लागि अंग्रेजी माध्यमको टेलिभिजन च्यानल सीजीटीएन स्थापना गरेको हो। सीजीटीएनले युरोपेली ब्युरो अफिसका रुपमा लण्डनमा कार्यालय खोलेर सञ्चालन गर्न थालेको दुई वर्ष नाघेको थियो। बेलायतले दुई वर्षदेखि स्वीकृति दिएर सबै सर्तहरु पालना गर्दै आएको सीजीटीएनमाथि प्रतिबन्ध लगाउने खास कारण चाहिँ अर्कै थियो। सीजीटीएनले हङकङमा भएको विरोध प्रदर्शनको वास्तविक प्रशारण गर्दै आएको थियो। हङकङको विरोध प्रदर्शनमा बेलायतको प्रत्यक्ष र परोक्ष हात थियो। हङकङलाई बिथोल्ने र त्यहाँको विकासलाई अवरोध गर्ने बेलायतको कालो हातलाई सीजीटीएनले पर्दाफास गरेपछि बेलायती नागरिकले आफ्नै सरकारले चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको भन्दै बिरोध गर्न थालेका थिए। त्यसमाथि चीनको सिनचियाङ स्वायत प्रदेशको विकास र मानव अधिकारका बारेमा सीजीटीएनबाट प्रसारित डकुमेन्ट्रीहरुले पनि बेलायती गलत नीतिको भण्डाफोर गरेको थियो। फलस्वरुप ‘सम्पादकीय स्वतन्त्रता’ भन्दै बेलायतले सीजीटीएनमाथि प्रतिबन्ध लगाएको थियो।
बेलायतले सीजीटीएनमाथि प्रतिबन्ध लगाएको एक सातामै चीनले बीबीसीमाथि प्रतिबन्ध लगाएको हो। तर चिनियाँ प्रतिबन्ध प्रतिशोध र बदलामा प्रेरित नभएको दावी चीनले गरेको छ। चीन सरकारको भनाइ अनुसार चीनले बीबीसीमाथि धेरैपटक चेतावनी दिएको थियो। बीबीसीले चिनियाँ नीति र कानुनको बारम्बार उलङ्घन गरेको हुनाले प्रतिबन्ध लगाउनु परेको चीनको भनाइ छ।
फेब्रुअरी १२ तारिख बेलायतका लागि चिनियाँ दूताबासले पत्रकार सम्मेलन गरी बीबीसीलाई चीनमा प्रतिबन्ध लगाउनु पर्ने कारणको जानकारी दिएको थियो। बेलायतस्थित चिनियाँ दूताबासका अनुसार केही समययता बीबीसीले चीन बारेमा समाचार सम्प्रेषण गर्दा चीनसम्बद्ध व्यवस्थापन नियमलाई उलङ्घन गर्दै आएको थियो। चीनमा विदेशी च्यानल प्रसारणको अनुमति लिँदा चीनको हित र चीन राष्ट्रको एकतालाई ध्वस्त बनाउने काम गर्न नपाइने कानुनी प्रावधान छ। तर बीबीसीले उक्त कानुनको बारम्बार उलङ्घन गर्दै आएको थियो। विशेष गरी हङकङको विरोध प्रदर्शन र सिनचियाङ सम्बन्धी बीसीसीका रिपोर्टहरु उक्त चिनियाँ कानुनका बर्खिलाप थिए। बारम्बार चेतावनी दिँदा पनि बीबीसीले सुधार नगरेकाले प्रतिबन्ध लगाउनु परेको दूताबासले स्पष्ट पारेको थियो।
बीबीसीले झुटको खेती गरेको र नक्कली समाचार बनाएर केही वर्षदेखि चीनलाई बदनाम गर्न बारम्बार विभिन्न माध्यमहरू प्रयोग गरेकाले चीनमा प्रतिबन्ध लगाउनु परेको अन्तर्राष्ट्रिय क्षेत्रका सञ्चार विज्ञले बताएका छन्। बेलायती सरकारका लागि ‘एसियातिर फर्कने’ र ‘ब्रेक्सिट पछिको युग’ मा आफ्नो अन्तर्राष्ट्रिय स्थिति पुनःप्राप्ति र बेलायतभित्र देखिएको असन्तुष्टिलाई मोड्नका लागि बीबीसीले चीनमाथि हिलो छ्याप्ने काम गर्दै आएको थियो। चीनमा बीबीसी प्रतिबन्धित हुँदा सबैभन्दा बढी बेफाइदा बेलायतलाई नै भएको छ।
यदि बीबीसीले चीनको हितलाई हानी पुर्याउने, चीनलाई विभाजन गर्न खोज्ने, घृणा फैल्याउने, भेदभावलाई प्रोत्साह गर्ने र चीनको राष्ट्रिय एकतालाई बिगार्ने काम नगरेको भए प्रतिबन्धित हुने थिएन। बीबीसीले चीनबाट अनुमति लिँदा उल्लेखित कार्य गर्दिन र चिनियाँ कानुनलाई अक्षरशः पालना गर्छु भनी स्वीकार गरेको थियो। कोरोना महामारीको समयमा पनि बीबीसीले चीनलाई बदनाम गर्ने गरी गलत र झुट कार्यक्रम प्रसारण गरेको थियो। ‘हुबेइ पुनःफर्कने’ नामक बीबीसीको वृत्तचित्रले वुहानलाई महामारीको उद्गमस्थल रहेको भन्दै चीनको आतंकवाद विरोधी अभियान भिडियोलाई चीनको महामारी नियन्त्रण विभागले मानवअधिकारमा अतिक्रमण तथा हिंसात्मक रूपमा कार्यान्वयन गरेको भनी गलत सामग्रीलाई फरक प्रसङ्गमा उल्लेख गरेर चीनमाथि हिलो छ्याप्ने प्रयास गरेको थियो। त्यसैगरी सन् २०२० को पछिल्लो ६ महिनामा बीबीसीले सिनच्याङसम्बन्धी रिपोर्टमा ४० वटा गलत र भ्रामक सामग्री प्रसारण गरेको थियो।
चीनले बीबीसीमाथि लगाएको प्रतिबन्धकै सिलसिलामा चीनका लागि बेलायती राजदूत कारोलिन एलिजाबेथ विल्सनले सामाजिक संजालमा गरेको टिप्पणीप्रति मार्च ९ तारिख चीनले स्पष्टीकरण सोधेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयले भनेको छ, चीन सरकार र जनताले विदेशी सञ्चार माध्यमको विरोध गरेका होइनन्, समाचार स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको झण्डा बोकेर नक्कली समाचारको सिर्जना गरी चीन, चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनको परिपाटीमाथि प्रहार गर्ने गलत गतिविधिको मात्र विरोध गरेका हुन्।
‘अफकम’ले मार्च ८ तारिख आफ्नो वेबसाइटमा सीजीटीएनमाथि लगाएको प्रतिबन्धको निर्णय र अन्तिम फैसला सार्वजनिक गरेको छ। उक्त निर्णयप्रति चीनले आपत्ति जनाएको छ। विश्वसमक्ष प्रसारण हुँदैआएको चिनियाँ मिडियाको हैसियतले सीजीटीएनले सधैँ विश्वका सर्वसाधारणका लागि निश्चित, छिटो र वस्तुगत समाचार प्रदान गर्नुका साथै बहुपक्षीय र सन्तुलित दृष्टिकोण उपलब्ध गराउँदै आएको छ। बेलायती सरकारले यस्तो कार्य नरुचाएको चीनले टिप्पणी गरेको छ। विश्वव्यापी समाचार च्यानलको रुपमा रहेको सीजीटीएनले प्रसारण हुँदैआएका सबै मुलुकको नियमलाई अक्षरश: पालना गर्दैआएको जनाउँदै स्थानीय अनुगमन र व्यवस्थापन संस्थाको निष्पक्ष व्यवहारका लागि पनि चीनले आग्रह गरेको छ। बीबीसीले कसरी झुटको खेती गर्छ भन्ने कुरालाई चिनियाँ सञ्चार माध्यमले केही विवरण सार्वजनिक गरेका छन्।
केही वर्षअघि ‘लुकेको अस्ट्रेलिया’ नामक एउटा वृत्तचित्र प्रदर्शनमा आएको थियो। सो वृत्तचित्रमा केही अस्ट्रेलियाली आदिवासीहरू एक मृतक साथीको कफिन छेउ जम्मा भई खानपिन गरेको दृश्य देखाइएको थियो। उक्त वृत्तचित्रको दृश्यलाई बीबीसीले नव वर्षको मनाउँदै गरेको भन्दै पुनःसम्पादन गरी उत्सवका रुपमा उक्त दृश्य राखेको थियो। वृत्तचित्रमा सबटाइटल पनि राखिएको थियो। प्रस्तोताले रक्सीको लतमा रहेका पीडित आदिवासी भेटेको दृश्यसँगै सबटाइटलमा उनी मेलबर्न गएर लागूपदार्थको समस्याको निरीक्षण गर्नेछन् भन्ने उल्लेख थियो।
उक्त वृत्तचित्र प्रदर्शनमा आएपछि बीबीसीको व्यापक आलोचना भयो। अन्ततः उक्त वृत्तचित्रलाई दर्शकले वहिस्कार गरेपछि बीबीसीले माफी माग्दै वाध्य भएर वृत्तचित्र हटाउनु परेको थियो। त्यसैगरी सन् २०१२ मा बीबीसीले सिरियामा बालबालिकालाई मारेको अवस्थालाई अतिरञ्जित बनाउन एकजना किशोरी थुप्रै शवहरूबीच खेलेको फोटो राखेको थियो। पछि वास्तविकता उजागर हुँदा थाहा भयो उक्त फोटो नौ वर्षअघि एक इटालीका फोटोग्राफरले इराकमा खिचेका थिए।
यी पुराना कुरा मात्र होइन केही दिन अगाडि बीबीसीले अर्को झुट प्रसारण गर्यो। बीबीसीको न्यूज आवर कार्यक्रमले अमेरिकी डेमोक्र्याटिक पार्टीका सिनेटर कोरी बुकरसँग अन्तर्वार्ता लिएको थियो। तर ती पुरूष कोरी बुकर नभएको पत्ता लागेको छ।
बेलायती विद्वान तथा लेखक डेभिड सेडविकले ‘नक्कली समाचार कारखाना: बीबीसीका कथाहरू’ नामक किताब प्रकाशन गरेका छन्। उनले लेखेका छन् ‘सन् २०२० सम्ममा बीबीसीमा सत्य बताउनेको संख्या पहिलेभन्दा धेरै कम हुनेमा विश्वस्त छु।’
मार्च ९ तारिख अस्ट्रेलियाका प्रसिद्ध युद्ध रिपोर्टर एवं चलचित्र निर्देशक जोन पिलगर, तीन पटक ओस्कार पुरस्कार विजेता निर्देशक एवं पटकथाकार ओलिभर स्टोनलगायत बेलायती अथवा बेलायतमा लामो समयसम्म बसेका चलचित्र, सञ्चार, संस्कृति क्षेत्रका व्यक्तिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सीजीटीएनमाथि अफकोमले गरेको निषेधको विरोध गरी वाकस्वतन्त्रताको संरक्षण गर्न आह्वान गरेका छन्। विज्ञप्तिमा भनिएको छः सबैलाई थाहा छ सीजीटीएन सार्वजनिक मान्यता पाएको चिनियाँ राष्ट्रिय मिडिया हो र त्यसको आधारमा दर्शकले सीजीटीएनको सेवा र कार्यक्रमको गुणस्तरमा मुल्याङ्कन गर्न सक्छन्। राष्ट्रिय मिडियाको रूपमा रहेको सीजीटीएनले बीबीसी, फ्रान्स टेलिभिजन र एनएचकेलगायत मिडियाको बराबर स्थान पाउनुपर्छ। उक्त विज्ञप्ति बेलायती मर्निङ स्टार अखवार र ‘नो कोल्ड वार’ संस्थाको बेवसाइटमा प्रकाशित छ।
चीनमा मात्र होइन बीबीसीको विश्वभर आलोचना हुने गरेको छ। धेरैजसो इन्टरनेट प्रयोगकर्ताहरुले बीबीसीको पूरा रुप ‘ब्रिटिस ब्रोडकार्टिङ कर्पोरेसन’लाई बिगारेर ‘बाएस्ड ब्रोडकास्टिङ कर्पोरेसन’ भनेका छन्। केही इन्टर्नेट प्रयोगकर्ताले त बीबीसीले बनाउने नक्कली समाचारका बारेमा भिडियो नै बनाएर विश्लेषण पनि गरेका छन्। विश्वलाई सत्यतथ्य देखाउने भनेर स्वघोषित बीबीसी यतिबेला आफैँले खनेको खाल्डोमा जाकिएको छ।
-चेतनाथ आचार्य चिनियाँ अन्तराष्ट्रिय रेडियो (सीआरआई) नेपाली विभागका विदेशी विशेषज्ञ हुँनुहुन्छ ।