प्रधानमन्त्री ओली अहिले गृह जिल्ला झापा जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली फाईल फोटो
काठमाडौं, २०७७ फागुन १६ गते आईतबार
प्रधानमन्त्री केपी शर्मा ओली औद्योगिक क्षेत्र शिलान्यासलगायतका विभिन्न कार्यक्रममा सहभागी हुन आज गृह जिल्ला झापा जाँदै हुँनुहुँन्छ । दमकस्थित सप्तरङ्गी एफ एमका अनुसार विहान ११:३० वजेदेखि प्रधानमन्त्रीको औपचारिक कार्यक्रम सुरु हुने बताईएको छ । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।
सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् । हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित छन् । उहाँ आजै काठमाडौं फर्कने बताईएको छ ।

