Mon. Apr 29th, 2024

चिनियाँ राजदुतावासद्वारा दरबार हाई स्कुललाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं, २०७७ फागुन १५ गते शनिबार 

नेपालस्थित चिनियाँ राजदुतावासले दरबार हाई स्कुललाई खेलकुद, स्वास्थ्य तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । चिनियाँहरूको महत्वपूर्ण चाड युआन स्याउ चे अर्थात् लालटिन पर्वका अवसरमा नेपालका लागि चिनियाँ राजदुत हौ यान छीले दरबार हाई स्कुलका शिक्षक र विद्यार्थीहरूलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो सहयोग हस्तान्तरण गर्नुभएको हो । सो समारोहमा नेपालका लागि चिनियाँ राजदुत हौ यान्छीले चीन सरकार र चिनियाँ जनताले नेपालको अर्थतन्त्र र सामाजिक विकासका लागि निरन्तर साथ दिने बताउनु भयो ।

चीनमा कोभिड १९ को महामारीको सुरुवात भएको जटिल र दुःखद अवस्थामा नेपाल र नेपालीहरुले गरेको सहयोगको समेत उहाँले स्मरण गर्नुभयो । २०२० मा कोरोना भाइरसले गर्दा विश्वलाइ नै निकै क्षति पुगेको उल्लेख गर्दै राजदुत यान्छीले नेपालमा कोरोना महामारी सुरुभएपछि महामारी नियन्त्रणको लागि चीनले स्वास्थ्य सामग्री तथा कोरोना विरुद्धको भ्याक्सिन सहयोग गरेको बताउँदै नेपाल र चीनका जनाताविच भएको मजबुत भारचारा सम्बन्धको प्रशंसा गर्नुभयो ।

भुकम्पबाट क्षतिग्रस्त बनेको दरबार हाई स्कुलको पुर्ननिर्माण पछि उक्त विद्यालयमा अहिले विद्यार्थीहरु पढ्न लागेको देख्दा आफुलाई निकै गर्व लागेको समेत राजदुत यान्छीको भनाई थियो । विधार्थीहरुले राम्रो पढेर देशको लागि महत्वपुर्ण योगदान गर्न सक्ने भन्दै विधार्थी र युवाहरुले नै चीन र नेपालबिचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुद बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले २०७२ सालको विनासकारी भुकम्पले क्षतिग्रस्त भएको मुलुककै सवैभन्दा पुरानो विद्यालय, दरबार हाईस्कुल मित्रराष्ट्र चीनको सहयोगबाट पुर्ननिर्माण भई नयाँ स्वरुप प्राप्त गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै चीन र चिनियाँ जनताप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले दरबार हाई मात्र नभर्ई बसन्तपुर दरबार क्षेत्र, नुवाकोट दरबार, सिभिल हस्पिटल, रिङरोड जस्ता विभिन्न महत्वपुर्ण क्षेत्रहरुमा चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नेपालले ती संरचनाको गुणस्तरिय उपयोग गर्न सक्नुपर्ने बताउनु भयो ।

सो अवसरमा राजदुत यान्छीले भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयका विभिन्न कक्षाकोठाहरुमा पुगि शिक्षक तथा विद्यार्थीहरुसँग अन्तक्रिया समेत गर्नु भएको थियो । त्यस्तै, उहाँले विज्ञान प्रयोगशाला, पुस्तकालयहरुको समेत अवलोकन गर्नु भएको छ  ।

२०७२ साल १२ गतेको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त भएको दरबार हाईस्कुल चिनियाँ सरकारको सहयोगमा र राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहजिकरणमा निर्माण भई गत २०७७ कार्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको थियो ।

Facebook Comments