Fri. Apr 26th, 2024

पत्रकार खसोग्जी पक्राउ र हत्या गर्ने योजनालाई साउदी युवराजको स्वीकृति

काठमाडौं, २०७७ फागुन १५ गते शनिबार 

अमेरिकी गुप्तचर निकायको रिपोर्टले साउदी युवराज मोहम्मद बिन सलमानले निर्वासनमा रहेका पत्रकार जमाल खसोग्जीको सन् २०१८ मा भएको हत्याको स्वीकृति दिएको पाएको छ। बाइडन प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा युवराजले खसोग्जीलाई “पक्राउ गर्न अथवा हत्या गर्ने” योजनालाई स्वीकृति दिएका थिए भनिएको छ ।

अमेरिकाले दर्जनौँ साउदीहरूमाथि प्रतिबन्ध लगाएको छ तर युवराजलाई भने लगाएको छैन। साउदी अरेबियाले उक्त रिपोर्टलाई अस्वीकार गर्दै त्यसलाई “नकारात्मक, झुटो र अस्वीकार्य” बताएको छ।

साउदीमा प्रमुख नेतृत्वदायी भूमिकामा रहनु भएका युवराज मोहम्मदले खसोग्जी हत्यामा उहाँको कुनै पनि भूमिका रहेको भन्ने अस्वीकार गर्नुभएको छ । खसोग्जी इस्तानबुलमा रहेको साउदी कन्सुलेट कार्यालयको भ्रमण गर्दा टर्कीमा मारिनु भएको थियो र उहाँको शरीर टुक्रा टुक्रा पारिएको थियो।

५९ वर्षीय पत्रकार खसोग्जी कुनैबेला साउदी सरकारका सल्लाहकार हुनुहुन्थ्यो र राज परिवारसँग उहाँको निकटता थियो । तर पछि उहाँ टाढिनु भयो र स्व-निर्वासनमा सन् २०१७ मा अमेरिका पुग्नु भएको थियो । त्यहीँ उहाँले वाशिङ्टन पोष्टका लागि मासिक स्तम्भ लेख्ने गर्नुहुन्थ्यो जसमा उहाँले युवराज मोहम्मदको नीतिहरूको आलोचना गर्नुहुन्थ्यो । बिबिसी

Facebook Comments