Tue. Apr 1st, 2025 05:37:41

फागुन २३ गते संसद् बैठक बोलाउने सरकारको निर्णय

- नेकपा प्रमुख सचेतकमा विशाल भट्टराई

काठमाडौं, २०७७ फागुन १४ गते शुक्रबार

मन्त्रिपरिषद् बैठकले यही फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले यही फागुन  २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

नेकपा प्रमुख सचेतकमा विशाल भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद विशाल भट्टराईलाई दिनुभएको छ । यसअघि देवप्रसाद गुरुङ सो जिम्मेवारीमा हुनुहुन्थ्यो ।

दलभित्र विवाद शुरु भएपछि दुई समूहमा पुगेको नेकपाभित्र अहिले जिम्मेवारी हेरफेरको क्रम जारी छ । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार भट्टराईलाई आजै नयाँ जिम्मेवारी दिइएको छ । “आज शुक्रबारबाट लागू हुनेगरी संसदीय दलका नेता तथा अध्यक्ष ओलीले सांसद भट्टराईलाई सो जिम्मेवारी दिनुभएको हो” उहाँले भन्नुभयो । नेकपा संसदीय दलको सचेतकको जिम्मेवारीमा शान्ता चौधरी रहनुभएको छ ।

नयाँ जिम्मेवारी पाएपछि आफू उत्साहित भएको बताउनुहुँदै प्रमुख सचेतक भट्टराईले भन्नुभयो, “दलको भावना अनुकूल काम गर्नेछु, संसदीय दललाई प्रभावकारी र चुस्त बनाउनमा लाग्नेछु ।” गोरखापत्र

Facebook Comments