Fri. Apr 26th, 2024

नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात, स्वास्थ्यमा सुधार देखिएन

काठमाडौं, २०७७ फागुन १४ गते शुक्रबार

नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ । गए राति स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उहाँलाई राति नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो समाचार अनुसार जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ ।

शुक्रवार दिउँसो पत्रकारहरूसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका डाक्टर राजीव झाले जोशीको भेन्टिलेटरमा उपचार भइराखेको बताउनुभयो । जोशीलाई मस्तिष्कघात भएपछि शुक्रवार बिहान थापाथलीको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि लगिएको थियो । स्वास्थ्य अवस्था स्थिर देखिए पनि सुधार हुने सम्भावना भने कायमै रहेको चिकित्सक झाले बताउनुभयो ।

टाउकोको सीटी स्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको पनि डा. झाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आँखाको नानी फुलेको देखियो । दुवैतिर कसैको आँखाको नानी फुलेको छ भने त्यो ‘अलमोस्ट डेथ’ मान्छेहरूमा त्यस्तो देखिन्छ । एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले राम्रोसित काम नगरेको जस्तो देखिसक्यो भनेपछि पक्कै पनि रगत बग्ने भइरहेको छ भनेर तुरुन्तै सीटी स्क्यान गर्‍याैँ । सीटी स्क्यान गर्दा जुन रगत थियो, दिमागको बीच भागमा एउटा सानो तलाउ जस्तो हुन्छ, त्यहाँ पानी बन्छ, त्यो ठाउँमा गएर पानी निस्कने बाटो बन्द गरेर टाउकोमा पानी पनि जम्दै राखेको देखेँ ।

टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (ईभीडी) राखिएको र एक सय ३० एमएल जति पानी निकालिएको पनि डा. झाले बताउनुभयो । त्यसपछि रक्तचाप कम भएकाले रक्तचाप बढाउने औषधि दिइएको पनि उहाँले बताउनुभयो । यस्तो अवस्था जटिल हुने पनि डा. झाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो एकदमै जटिल अवस्था हो । विश्वमा हेर्ने हो भने यस्तो किसिमको मान्छेहरूमा एक सय प्रतिशतमा ६०/७० प्रतिशतको मृत्यु हुन्छ । अहिले कसरी हुन्छ बचाउनेतिर हामी लागिरहेका छौँ । जो ३० प्रतिशत जति बाँच्नुहुन्छ, उहाँहरूमा ठूलो प्यारालाइसिस रहने सम्भावना लामो समयसम्म रहन्छ ।’

नर्भिक अस्पतालमा आइपुग्दा जोशी कोमाको अवस्थामा रहनुभएको र वान्ता भइ फोक्सोमा असर भएकाले सास फेर्न गाह्रो भइराखेको थियो । उज्यालो अनलाईन

Facebook Comments