Sat. Nov 23rd, 2024

विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी आज श्रीपञ्चमी पर्व मनाईदै

काठमाडौं, २०७७ फागुन ४ गते मंगलबार

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । संगीत, कला, साहित्य र विद्याकी देवी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ।

आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ।

श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ। विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । तर यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्न पनि शुभ मानिन्छ । काठमाण्डौ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गाैरीधारामा रहेका नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।

आज हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार बिहान १० बजेर १७ मिनेटमा हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ ।

उपत्यकाका पशुपति जयवागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, चाँगु, फर्पिङ, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको भीड लाग्दछ।

भक्तपुरको हनुमन्ते खोलाको पूर्वपट्टि चौरमा सरस्वती बस्ने विश्वास गरिन्छ। ल्हासाबाट मूर्ति ल्याइएको यी सरस्वतीलाई नीलसरस्वती भनिन्छ । यस ठाउँमा श्रीपञ्चमीको अघिल्लो दिन सरस्वतीलाई तेल घस्न विद्यार्थीको भीड लाग्दछ।

बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन् । यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ ।

सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ ।

सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ । यसपछि सरस्वती कवच पाठ गरिन्छ ।

Facebook Comments