Mon. Apr 29th, 2024

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा आजदेखि एमिकस क्युरीले बहस गर्ने

काठमाडौं, २०७७ फागुन ४ गते मंगलबार

प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा आजदेखि एमिकस क्युरिले बहस गर्ने भएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी निरन्तर सुनुवाइमा रिट निवेदनमाथिको जवाफी बहस सकिएपछि आजदेखि एमिकस क्युरिले बहस गर्ने भएका हुन् ।

हिँजो प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सरकारी पक्षको बहसपछि निवेदक तर्फको जवाफी बहसमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ र शम्भु थापाले प्रधानमन्त्रीलाई संविधानले दिएको भन्दा बाहिरको अवशिष्ट अधिकार प्राप्त नहुने तर्क गर्नुभएको थियो ।

जवाफी बहसकै क्रममा अधिवक्ताहरू टीकाराम भट्टराई, गोबिन्द बन्दीलगायतले संविधानको अमुक धारा उल्लेख गरेर प्रधानमन्त्रीलाई विघटनको अधिकार भएको भनी गरिएको व्याख्या गलत भएको बताउनुभयो ।

यसै गरी, अदालतको अवहेलना मुद्दामा चारजना पूर्व प्रधानन्यायाधीशहरूले सोमबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको थियो ।

यसअघि सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, र सुशीला कार्कीलाई अदालतमा आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले आफ्नो छुट्टै लिखित जवाफ पेस गर्नुभएको छ भने बाँकी तीन जनाले संयुक्त रुपमा लिखित जवाफ दिनुभएको छ ।

चारै जना पूर्व प्रधानन्यायधिशहरुले लिखत जवाफमा आफूहरूले अदालतको अवहेलना नगरी संविधानले दिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकको प्रयोग गरेको उल्लेख गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटन भएपछि पुस २४ गते चारजना पूर्व प्रधानन्यायाधीशहरुले जारी गर्नुभएको विज्ञप्तिलाई लिएर अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले सर्वोच्चमा अपहेलना मुद्दा दायर गर्नुभएको थियो । रेडियो नेपाल

Facebook Comments