एनपिएलका सबै खेलमा डिआरएस लागू हुने, खेल समय पनि फेरियो
- एनपिएल २०२६ का सबै खेलमा डिआरएस प्रयोग गरिने ।
- दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२ः३० र दोस्रो साँझ ५ बजे ।
- कात्तिक ९ देखि कीर्तिपुरमा प्रतियोगिता सुरु हुने ।
काठमाण्डू । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सबै खेलमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितामा उक्त प्रविधि लागू गरिने जनाएको हो ।
क्यानका अनुसार एनपिएल २०२६ का सबै खेलमा डिआरएस प्रयोग हुनेछ । यस प्रविधिले मैदानमा खटिएका अम्पायरको निर्णयमा असहमति जनाउने टोलीलाई चुनौती दिन अवसर दिनेछ । टोलीले अम्पायरको निर्णयमा पुनरावलोकन माग गर्दै सम्बन्धित फुटेज हेर्न सक्नेछन् ।
डिआरएसको व्यवस्था लागू भएसँगै खेलको समय पनि परिवर्तन गरिएको क्यानले जनाएको छ । संशोधित तालिकाअनुसार दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ ।
एक खेल मात्र हुने दिन भने खेल साँझ ५ बजे सुरु हुनेछ । प्रतियोगिता यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । रासस

