२०८३ आश्विन २९, बिहीवार

१२ वर्षको ढिलाइपछि खुल्यो चीन-उत्तर कोरिया जोड्ने पुल

चीनको डान्दोङ सहर र उत्तर कोरियालाई जोड्ने नयाँ यालु नदी पुलको दृश्य । सन् २०१४ मै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको यो पुल १२ वर्षको ढिलाइपछि बिहीबारदेखि यातायातका लागि खुला गरिएको हो । तस्बिर : सिन्ह्वा

       
  • चीन र उत्तर कोरियाबीच व्यापार र यातायात विस्तार हुने अपेक्षा ।
  • तीन किलोमिटर लामो चार लेनको यालु नदी पुल सञ्चालनमा ।
  • उत्तर कोरियाको कुल व्यापारमा चीनको हिस्सा ९८ प्रतिशत ।

पैचिङ (Beijing) । चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल बिहीबारदेखि सञ्चालनमा आएको छ । निर्माण सुरु भएको लामो समयपछि खुलेको यस पुलबाट दुई देशबीच व्यापार, यातायात र आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ ।

चीनको डान्दोङ सहरलाई उत्तर कोरियाको सिनुइजुसँग जोड्ने चार लेनको पुल उद्घाटन समारोहमा दुवै देशका प्रधानमन्त्रीले भिडियो सन्देश दिनुभएको थियो । चिनियाँ प्रधानमन्त्री ली छ्याङले पुललाई दुई देशबीचको परम्परागत मित्रताको प्रतीक बताउँदै सीमावर्ती क्षेत्रमा सहकार्य बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको यो पुल उत्तर कोरियातर्फको निर्माण अधुरो रहेकाले लामो समय रोकिएको थियो । चीनमाथिको आर्थिक निर्भरता र उत्तर कोरियाको आणविक कार्यक्रमसम्बन्धी प्रतिबन्धमा चीनको भूमिकालगायत विषयले ढिलाइ भएको हुन सक्ने अनुमान गरिएको थियो ।

नयाँ पुलले दुई देशबीचको ७० प्रतिशतभन्दा बढी आधिकारिक व्यापार सम्हाल्दै आएको पुरानो पुलको चाप कम गर्ने अपेक्षा गरिएको छ । दशकौँ पुरानो पुलमा सडक यातायात एकपटकमा एकतर्फ मात्र सञ्चालन गर्न सकिन्छ । रुस र उत्तर कोरियाले सडक पुल सञ्चालनमा ल्याएको करिब एक महिनापछि चीनसँगको नयाँ पुल खुलेको हो । चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख व्यापारिक साझेदार रहे पनि पछिल्ला वर्षमा उत्तर कोरियाली नेता किम जोङ उनले रुससँगको सम्बन्ध विस्तार गर्नुभएको छ ।

युक्रेन युद्धमा रुसलाई सैनिक र हतियार सहयोग गरेको उत्तर कोरियाले त्यसको बदलामा सैन्य तथा आर्थिक सहयोग पाएको हुन सक्ने विश्लेषकहरूको भनाइ छ ।

चीनले उत्तर कोरियामा आफ्नो प्रभाव बलियो बनाउन चाहेको विश्लेषण भइरहेका बेला गत वर्ष उत्तर कोरियाको कुल व्यापारको ९८ प्रतिशत हिस्सा चीनसँग रहेको थियो । एपी

Facebook Comments