२०८३ आश्विन २९, बिहीवार

टरिगाउँ र रारा विमानस्थल विस्तारको अध्ययन अघि बढाइने

रारा विमानस्थलको धावनमार्ग

       
  • टरिगाउँ र रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन गर्न निर्देशन ।
  • रारामा वैकल्पिक स्थानमा नयाँ विमानस्थल बनाउन सकिने सम्भावनासमेत अध्ययन गरिने ।
  • हवाई सेवा सहज बनाउँदै पर्यटन र क्षेत्रीय विकासमा जोड ।

काठमाण्डू । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारसम्बन्धी अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिनुभएको छ ।

दुवै विमानस्थलको निरीक्षण तथा अवलोकन भ्रमणपछि मन्त्री पौडेलले आज मन्त्रालयमा क्यानका पदाधिकारीसँग छलफल गरी आवश्यक अध्ययन अघि बढाउन निर्देशन दिनुभएको हो ।

क्यानका अनुसार मन्त्री पौडेलको नेतृत्वमा प्राधिकरण तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूले गत असोज २१ देखि २६ गतेसम्म नेपालगञ्ज, दाङ, रारा र जुम्ला विमानस्थलको निरीक्षण तथा अवलोकन भ्रमण गरेका थिए ।

भ्रमणका क्रममा ती विमानस्थलको दीर्घकालीन विकास तथा विस्तारका लागि आवश्यक पूर्वाधार, प्राविधिक सम्भाव्यता, सञ्चालन क्षमता अभिवृद्धि र सेवा प्रभावकारी बनाउने उपायबारे विस्तृत अध्ययन गर्न निर्देशन दिइएको थियो ।

क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार दाङको टरिगाउँ विमानस्थलको विकास तथा विस्तारका सम्भावनाबारे अध्ययन गरिनेछ । हवाई यातायात सेवालाई थप सुलभ, सहज र प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन तथा क्षेत्रीय विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।

टरिगाउँ विमानस्थल, दाङ

त्यसैगरी, रारा विमानस्थलको स्तरोन्नति तथा विस्तार गर्न सकिने सम्भावनाबारे अध्ययन गरिनेछ । महानिर्देशक डङ्गोलका अनुसार आवश्यकताअनुसार वैकल्पिक स्थानमा नयाँ विमानस्थल निर्माण गर्न सकिने सम्भावनाको समेत प्राविधिक तथा सम्भाव्यता अध्ययन गर्न मन्त्री पौडेलले निर्देशन दिनुभएको छ ।

दुवै विमानस्थलको विकासका लागि आवश्यक प्राविधिक अध्ययन, सम्भाव्यता विश्लेषण, पूर्वाधारको आवश्यकता पहिचान र आगामी कार्ययोजना निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिइएको छ ।

विमानस्थलको विकास तथा विस्तार प्रक्रिया अघि बढेमा हवाई यातायातको पहुँच विस्तार हुनुका साथै पर्यटन विकास र सम्बन्धित क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस

Facebook Comments