२०८३ आश्विन २९, बिहीवार

म्याग्दीका छवटै स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र, पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकतामा

       
  • मन्त्री महावीर पुनद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण ।
  • म्याग्दीमा सात जनाको मृत्यु, दुई जना बेपत्ता ।
  • १११ घर पूर्ण क्षति, ३४२ घर पहिरोको उच्च जोखिममा ।

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनालाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।

मन्त्री पुन असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज म्याग्दी पुग्नुभएको हो ।

गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा पुन विजयी हुनुभएको थियो । बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षण, प्रभावितसँग भेटघाट र सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्न उहाँ म्याग्दी पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

“म्याग्दीका छवटै स्थानीय तहको केन्द्रमा पुगेर विपद्ले पुर्‍याएको क्षतिको निरीक्षण, प्रभावितसँग भेटघाट र पुनर्निर्माण तथा पुनःस्थापनाका विषयमा छलफल गर्न आएको हुँ”, मन्त्री पुनले भन्नुभयो, “क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र बाढीपहिरोबाट घरवासविहीन बनेकाहरूको पुनःस्थापनालाई प्राथमिकता दिएर म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।”

मन्त्री पुनले स्थलगत निरीक्षण, प्रभावितका अपेक्षा र सरोकारवालाका सुझावका आधारमा पुनर्निर्माण तथा पुनःस्थापनाको कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभयो ।

आज बिहान बेनीमा प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायत सुरक्षा अधिकारीसँग भेटघाट गरेपछि उहाँ धौलागिरि, मालिका र मङ्गला गाउँपालिकाको निरीक्षणमा जानुभएको थियो ।

शुक्रबार बिहान बेनी र दिउँसो रघुगङ्गा तथा अन्नपूर्ण गाउँपालिकाको निरीक्षण गरी त्यहाँका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको मन्त्री पुनका सम्पर्क व्यक्ति चित्र तिलिजा पुनले बताउनुभयो ।

मन्त्री बनेपछि पुन दोस्रोपटक आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएको हो । सरकारी सवारीसाधन र सुरक्षाकर्मी साथमा नलिई निर्वाचन क्षेत्रमा आउनुभएका पुनको टोलीले भ्रमणमा भाडाको जिप प्रयोग गरेको छ ।

विपद्का कारण म्याग्दीमा सात जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । सडक, खानेपानी, नदी नियन्त्रण, विद्युत्, सञ्चार, सिँचाइ पूर्वाधार र निजी सम्पत्तिमा अर्बौं रुपैयाँको क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाभर १११ घर पूर्णरूपमा क्षति हुँदा परिवार विस्थापित भएका छन् । ९३ घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर पहिरोको उच्च जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

प्रारम्भिक विवरणअनुसार बेनी-जोमसोम सडकखण्डमा मात्रै करिब ८० देखि ९० करोड रुपैयाँ बराबरको क्षति भएको छ । बेनी-दरबाङ सडकखण्डमा करिब आठ करोड रुपैयाँको क्षति पुगेको छ ।

सदरमुकाम बेनीमा वितरण हुने खानेपानीका संरचनामा आठदेखि १० करोड रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत् संरचनामा करिब दुई करोड ५० लाख रुपैयाँको क्षति पुगेको प्रशासनले जनाएको छ । रासस

Facebook Comments