२०८३ आश्विन २६, सोमवार

घरघरमा जमरा राखियो, बडादसैँ सुरु

काठमाडौं, २५ असोजः हनुमानढोकास्थित दसैँघरमा घटस्थापनाका दिन पूजा आराधना गरी जमरा राख्दै। तस्बिर : प्रदीप राज वन्त रासस

       
  • आज बिहान ११:४७ बजे शुभ साइतमा घटस्थापना ।
  • नवदुर्गाको पूजा आराधनासहित शारदीय नवरात्र सुरु ।
  • विजयादशमीमा टीकासँगै पहेँलो जमरा लगाउने परम्परा ।

काठमाडौँ । आज बिहान ११:४७ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जमरा राखिएको छ । जमरा राखेर नवदुर्गाको पूजा आराधना गरेसँगै बडादसैँ सुरु भएको हो । यसलाई शारदीय नवरात्र पनि भनिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृति योग परेकाले स्वस्तिशान्ति गरी आजै घटस्थापनासहित जमरा राख्न आह्वान गरेको थियो । सामाजिक सञ्जालमा सोमबार घटस्थापना गर्ने चर्चा चलेपछि समितिले आजै घटस्थापना गर्नुपर्ने स्पष्ट पारेको थियो ।

नवरात्रमा शक्तिकी अधिष्ठात्री देवीको आवाहन गरी पूजा आराधना गरिन्छ । जौको अङ्कुर दुर्गाको प्रिय वस्तु मानिएकाले घटस्थापनाका दिन जौ रोप्ने चलन छ । विजयादशमीका दिन दुर्गालाई जमरा चढाएपछि टीका र प्रसादसँगै समृद्धिको प्रतीकका रूपमा पहेँलो जमरा लगाउने परम्परा छ ।

जमरामा जौबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् तोयराज नेपालले बताउनुभयो ।

नवरात्रभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ । महाकालीलाई शक्तिको, महालक्ष्मीलाई धनधान्य र ऐश्वर्यको तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिका प्रतीक मानिने चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायत राक्षसको वध गर्न धारण गरेका नौ रूपको दुर्गा पक्षमा विशेष पूजा गरिन्छ । रासस

Facebook Comments