बूढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन
- दुई मोटरेबल र चार झोलुङ्गे पुल बगाए ।
- चुमनुब्रीको पैयुँ र बगरका करिब ३५ घर बगे ।
- जगत्, सल्लेरी, दोभान र घट्टेखोलामा पनि क्षति ।
गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखामा छ वटा पुल बगाएको छ । बाढीमा कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुई वटा मोटरेबल र चार वटा झोलुङ्गे पुल बगाएको हो ।
बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ । धार्चे गाउँपालिका-१ र ३ जोड्ने बेलीब्रिज पनि बाढीले बगाएको छ ।
यसैगरी, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बाढीले चुमनुब्री गाउँपालिका-३ स्थित पैयुँ र बगरका करिब ३५ घरसमेत बगाएको छ । जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि बाढीले क्षति पुर्याएको छ । रासस

