राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान सुरु, १३ वटा स्थानीय तहमा जनसंवाद गरिने
- एक सातासम्म जिल्लाभर जनसंवाद गर्ने ।
- नागरिकका समस्या र गुनासा सङ्कलन गरिने ।
- १३ वटै स्थानीय तहमा पुग्ने कार्यक्रम ।
काभ्रेपलाञ्चोक । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी आउँदैछौँ’ नामक एकहप्ते अभियान आजदेखि काभ्रेपलाञ्चोकमा सुरु गरेको छ ।
असोज २७ गतेसम्म सञ्चालन हुने अभियानमा पार्टीका केन्द्रीय प्रतिनिधिका रूपमा सांसदत्रय जगदीश खरेल, गणेश कार्की र कुसुम महर्जन खटिनुभएको छ ।
बनेपामा अभियानको उद्घाटन गर्दै सांसद महर्जनले अभियानमा सहभागी भएर आफ्ना समस्या, गुनासा तथा विकास निर्माणसम्बन्धी सुझाव राख्न स्थानीय नागरिकलाई आग्रह गर्नुभयो । उहाँले समस्या तथा गुनासा लिखित रूपमा समेत उपलब्ध गराउन सकिने बताउनुभयो ।
अभियानअन्तर्गत जिल्लाका १३ वटै स्थानीय तहमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय समस्या तथा जनगुनासा सङ्कलन गर्ने र पार्टीको राजनीतिक अभियानलाई जनस्तरसम्म पुर्याउने कार्यक्रम रहेको जनाइएको छ ।
केन्द्रीय समितिद्वारा परिचालित प्रतिनिधिले जिल्ला तथा स्थानीय नेता-कार्यकर्तासँगको समन्वयमा विभिन्न नगरपालिका तथा गाउँपालिकामा नागरिक, कार्यकर्ता र सरोकारवालासँग भेटघाट गर्नेछन् । त्यसका लागि स्थान र समय तालिकासमेत सार्वजनिक गरिएको छ ।
रास्वपाका जिल्ला सभापति प्रवीणकुमार ढकालले अभियानबाट स्थानीय तहका समस्या बुझ्ने, जनताका अपेक्षा सुन्ने र पार्टीको आगामी राजनीतिक यात्राका लागि आधार तयार गर्ने उद्देश्य रहेको बताउनुभयो ।
उहाँका अनुसार अभियानलाई राजनीतिक भेटघाटमा मात्र सीमित नराखी जनताको घरदैलोमा पुगेर वास्तविक समस्याबारे जानकारी लिइने र समाधानका लागि केन्द्रलाई सुझाव दिइनेछ । अभियानले जिल्लाको राजनीतिक अवस्था र नागरिकका अपेक्षालाई नजिकबाट बुझ्ने अवसर प्राप्त हुने उहाँले बताउनुभयो । रासस

