रसुवा-भोटेकोशी बाढी अपडेट : १ हजार ४३६ वटा शव फेला परे, ४ हजार ६५५ जना अझै बेपत्ता
- बाढीमा परी एक हजार ४३६ जनाको शव फेला परे।
- एक हजार २९२ शवको व्यवस्थापन, तीन हजार २८३ डिएनए नमूना सङ्कलन ।
- चार हजार ६५५ जना अझै बेपत्ता, खोजी कार्य जारी ।
काठमाण्डू । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका छन् । प्रहरीको कुल तथ्याङ्कमा भने एक हजार ४३६ शव फेला परेको उल्लेख छ ।
फेला परेका शवको पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ डिएनए नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ । हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको छ ।
पहिचान नभएका एक हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म सात हजार ९७५ प्रहरी परिचालन गरिएको छ । बेपत्ता भएका चार हजार ६५५ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस

