रसुवा भोटेकोशी बाढी: खोज, उद्धार तथा राहत कार्य तीव्र, ३,९९२ जना अझै वेपत्ता (अपडेट)
भिओके/समाचार काठमाण्डू । रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण प्रभावित क्षेत्रमा नेपाल प्रहरीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाल प्रहरीद्वारा जारी भदौ २१ गते राति ८:०० बजेसम्मको अध्यावधिक विवरण अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ७,५१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।
बाढीका कारण हालसम्म ३,९९२ जना वेपत्ता रहेका छन्। वेपत्ता हुने स्वदेशीमा २,८२७ पुरुष र ५६७ महिला गरी कुल ३,३९४ जना छन् भने विदेशीमा २६७ पुरुष, २३९ महिला र अन्य २ जना गरी कुल ५९८ जना रहेका छन्।
प्रहरीले हालसम्म ९,१५९ जना घाइते तथा प्रभावितहरूको उद्धार गरेको छ। जसमा ६,३२४ पुरुष, २,७८१ महिला र ४४ जना पहिचान नखुलेका व्यक्तिहरू रहेका छन्। यस्तै, होल्डिङ्ग सेन्टरमा ३,१८० जनालाई राखिएको छ।
दुर्घटनास्थल तथा आसपासका क्षेत्रबाट हालसम्म कुल १,३५३ वटा शव तथा शवका अंशहरू फेला पारिएको छ। जसमा ५३० पुरुष, ३२८ महिला र ४९५ वटा आंशिक अङ्ग रहेका छन्। फेला परेका शवमध्ये १,०४४ वटा शवको जमिनमुनि सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको छ भने ९८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ।
पहिचान खुल्न नसकेका १,२९० जनाको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। साथै, पहिचान प्रक्रियालाई सहज बनाउन कुल २,३७६ वटा डीएनए नमुना संकलन गरिएको छ। जसमा १,१८१ मृतकका र १,१९५ मृतकका आफन्तका नमुना रहेका छन्।
प्रहरीले उद्धार र राहतसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि अघि बढाएको छ। हालसम्म १३२ वटा जनचेतनामूलक कार्यक्रममार्फत ४२,७३८ जना सर्वसाधारण सहभागी भइसकेका छन्। उद्धारका क्रममा ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।

