२०८३ श्रावण २९, शुक्रवार

काठमाण्डू विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल नवनियुक्त काठमाण्डू विश्वविद्यालयका उपकुलपति प्रा.डा. विवेक बराललाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्दै ।

       

काठमाण्डू । काठमाण्डू विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई उपकुलपति नियुक्त गर्नुभएको हो ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्नुभयो । मन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।

गत जेठ १९ गते बसेको काठमाण्डू विश्वविद्यालयको सिनेट बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गाना र काठमाण्डू विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष एवं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा सदस्य हुनुहुन्थ्यो ।

बराल काठमाण्डू विश्वविद्यालयको मेकानिकल इञ्जिनियरिङ विभागका प्राध्यापक हुनुहुन्छ । काठमाण्डू विश्वविद्यालयमा अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । उहाँ विश्वविद्यालयको इञ्जिनियरिङतर्फको दोस्रो ब्याचका विद्यार्थी हुनुहुन्थ्यो ।

राससका अनुसार उहाँले काठमाण्डू विश्वविद्यालयबाट मेकानिकल इञ्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्यूजील्याण्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । उहाँको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इञ्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा रहेको छ ।

बराल उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक बन्नुभएको हो ।

Facebook Comments