२०८३ आश्विन ३१, शनिवार

दिल्लीमा मतदाता सूची विवाद चर्कियो, सेन्ट्रल पार्क दुई दिनका लागि बन्द

       
  • तदाता सूचीबाट १३ करोडभन्दा बढी नाम हटाइएको दाबी ।
  • निर्वाचन प्रमुखलाई हटाउन माग गर्दै प्रदर्शनको तयारी ।
  • प्रदर्शन रोक्न दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन ।

नयाँदिल्ली । भारतमा मतदाता सूची संशोधनका क्रममा लाखौँ मतदाताको नाम हटाइएको भन्दै निर्वाचन प्रमुखलाई पदबाट हटाउन मागसहित प्रदर्शनको तयारी भएपछि अधिकारीहरूले शुक्रबार नयाँदिल्लीस्थित सेन्ट्रल पार्क बन्द गरेका छन् ।

कक्रोच जनता पार्टी (सिजेपी) ले आयोजना गरेको प्रदर्शनमा मतदाता सूची संशोधनबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुर्‍याइएको आरोप लगाइएको छ । सञ्चारमाध्यमका अनुसार संशोधनका क्रममा १३ करोडभन्दा बढी नाम हटाइएको छ । आलोचकहरूले यसबाट विशेषगरी मुस्लिम समुदाय प्रभावित भएको बताएका छन् ।

निर्वाचन आयोगले भने दोहोरो, मृतक र नक्कली नाम हटाउन सूची संशोधन गरिएको जनाएको छ । आयोगले अनियमितता भएको आरोप अस्वीकार गरेको छ ।

सिजेपीका संस्थापक अभिजीत डिप्केले राष्ट्रिय झण्डा फहराउन खोज्दा आफ्ना दुई सहकर्मी पक्राउ परेपछि समर्थकहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गर्नुभएको थियो । प्रहरीले जन्तर मन्तरमा प्रदर्शन गर्ने अनुमति फिर्ता लिएपछि उहाँले सेन्ट्रल पार्कमा र्‍याली गर्ने तयारी गर्नुभएको हो ।

प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले कनाट प्लेस क्षेत्रमा सार्वजनिक जमघटमा रोक लगाउँदै आदेश उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गर्ने जनाएको छ । नगर अधिकारीहरूले भने प्रशासनिक कारण देखाउँदै पार्क दुई दिनका लागि बन्द गरिएको बताएका छन् ।

डिप्केले पक्राउ पर्ने सम्भावना भए पनि प्रदर्शनबाट पछि नहट्ने बताउनुभयो । भारतीय झण्डा फहराएकै कारण जेल जानुपरे पनि आफूहरू त्यसका लागि तयार रहेको उहाँको भनाइ थियो ।

यसैबीच, भारतका रक्षामन्त्री राजनाथ सिंहले विपक्षी दलहरूले निर्वाचन सुधारका लागि नभई लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाएर देशमा अराजकता फैलाउँदै सत्ता कब्जा गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले विपक्षीहरूको अभियान देशका युवाको उज्ज्वल भविष्यका लागि समेत नभएको बताउनुभयो । एएफपी

Facebook Comments