Wed. Jul 22nd, 2026

‘बिपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’

       

काठमाण्डू । नेपाली कांग्रेसका नेताहरूले पार्टीका संस्थापक एवं मुलुकका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाका आदर्श, प्रजातान्त्रिक समाजवाद र प्रजातन्त्रप्रतिको निष्ठा आज पनि सबैका लागि प्रेरणा भएको बताउनुभएको छ ।

जननायक बिपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा कांग्रेसको नियमित महाविधेशन पक्षधरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरूले बिपीले प्रजातन्त्रका लागि जीवन जोखिममा राखेर गर्नुभएको सङ्घर्ष आज कसैले पनि बिर्सन नहुने धारणा व्यक्त गर्नुभयो ।

साथै उहाँहरूले संवाद सहमति र एकताका साथ पार्टीका सबै पक्षलाई मिलाएर कांग्रेसलाई एक ढिक्का बनाउन पार्टी सभापति गगनकुमार थापा बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । संस्थापन इतर पक्षका नेताहरूले यही साउन २९ गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने समेत बताउनुभएको छ ।

कार्यक्रममा पार्टीका पूर्व उपभापति तथा भेलाका संयोजक प्रकाशमान सिंहले नियमित महाधिवेशन र विशेष महाधिवेशन दुवै पक्षलाई समेटेर स्वच्छ खालको महाधिवेशन हुनुपर्ने बताउनुभयो । “कांग्रेसभित्र गुटउपगुट भए पनि महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “दुवैपक्षलाई समेट्ेर महाधिवेशन गराउन जरुरी छ ।”

पूर्वउपसभापति सिंहले पार्टीको सदस्यताको लागि अद्यावधिक गराउन जरुरी नरहेको स्पष्ट पार्नुभयो । उहाँले यही साउन २९ गते काठमाडौँमा राष्ट्रिय भेला हुने जानकारी दिँदै भन्नुभयो, “यस अगाडि पनि भेला भएको नै हो । अब पनि भेला गरेर व्यवस्थित गर्नेछौँ ।”

पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जननायक बिपी कोइरालाले जुनसुकै समस्याको समाधानलाई संवाद, सहमति र एकताको माध्यमबाट नै निष्कर्ष निकाल्ने गरेको स्मरण गर्दै उहाँले एकताको बलमा नै इतिहासको कालखण्डमा सफलता हात पारेको बताउनुभयो । “बिपी कोइरालाको नीति र विचारलाई कांग्रेसले कुनै पनि हालतमा छोड्न सक्दैन”, उहाँले भन्नुभयो ।

नेता खड्काले बिपी कोइरालाले कांग्रेसभित्रको सम्पूर्ण एकता गर्न जरुरी रहेको बताउनुभयो । “बिपी कोइराला २०३३ सालमा राष्ट्रिय र मेलमिलापको नीति लिएर आउनुभन्दा अगाडी नेपालको राष्ट्रियता निकै कमजोर अनुभूति गरेर स्वदेश आउनुभएको थियो”, उहाँले भन्नुभयो । उहाँले कांग्रेसभित्रै संवाद, मेलमिलाप र सम्पूर्ण एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको औल्याउनुभयो ।

वरिष्ठ नेता डा शेखर कोइरालाले बिपीले अघि सार्नुभएको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई सबैले अङ्गीकार गर्न जरुरी रहेको उल्लेख गर्दै अहिले मुलुकका अन्य शक्तिहरूसँग राष्ट्रिता र लोकतन्त्र बचाउनको लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले बिपी स्मुति दिवस पार्टी कार्यालय सानेपामा मनाउनुपर्नेमा नेपाल प्रज्ञा प्रतिष्ठानमा मनाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो ।

कांग्रेसका पूर्वउपभापति विमलेन्द्र निधिले मुलुकको सार्वभौमसत्तामाथि खतरा देखिएको तत्कालीन अवस्थामा बिपीले राष्ट्रिय मेलमिलापको नीति लिएर ठूलो जोखिमका साथ राष्ट्रिय शक्तिको एकता औल्याउनुभएको स्मरण गर्नुभयो । उहाँले बिपीका आदर्श र विचारबाट आफू निकै प्रभावित रहेको र आफ्नो राजनीतिको प्रेरणाको प्रमुख स्रोत नै बिपी भएको उल्लेख गर्दै बिपीका विचार र आदर्शप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

पूर्वमहामन्त्री शशाङ्क कोइरालाले बिपी कोइरालाको मेलमिलाप र राष्ट्रिय सहिष्णुताको नीतिलाई अक्षरशः पालना गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । “बिपी कोइरालाको त्याग र तपस्यालाई हामी कसैले पनि अवमुल्यन गर्नुहुँदैन”, उहाँले भन्नुभयो, “बिपीको सिद्धान्त र विचारलाई सधैँ जीवन्त राख्नेछौँ र कहिल्यै पनि मर्न दिने छैनौँ ।”

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आफूहरूले पार्टीमा एकता कायम गरेर कांग्रेसलाई बलियो बनाउन चाहको बताउँदै मुलुकका समसामयिक राजनीतिक समस्या समाधान र राष्ट्रिय तथा लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेस एक ढिक्का हुनु आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा नेताहरू विजयकुमार गच्छदार, डा प्रकाशशरण महत, एनपी साउँद, शङ्कर भण्डारी, बिरबहादुर बलायर, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरी, गोविन्द भट्टराई, मीनबहादुर विश्वकर्मा, अम्बिका बस्नेत, जितजङ्ग बस्नेत, केदार कार्की, कान्छाराज तामाङ, नागेश कोइराला, गुरु बराल, शिव हुँमागाई, निलकाजी शाक्य, कुन्दन काफ्ले, गणेश तिमिल्सिना, उषा राउत, सिर्जना मल्ल, हरिशरण नेपाली, दिल लामा, सुशान्त बस्नेतलगायतले प्रजातन्त्रका लागि बिपीले गर्नुभएको सङ्घर्ष र योगदानका बारेमा चर्चा गर्दै उहाँको मेलमिलापको नीतिलाई आत्मसात् गर्दै पार्टी एकताका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । रासस

Facebook Comments