कतारका पूर्वनेता शेख हमद बिन खलिफाको निधन
निधन हुनुभएका कतारका पूर्वनेता शेख हमद बिन खलिफा अल थानी
दोहा । कतार सरकारले आइतबार पूर्वनेता शेख हमद बिन खलिफा अल थानीको निधन भएको घोषणा गरेको छ । उहाँले सन् १९९५ देखि २०१३ सम्म कतारको नेतृत्व गर्नुभएको थियो । अमिरको कार्यालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा शेख हमदको निधनप्रति दुः ख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
शेख हमदलाई आधुनिक कतार निर्माणका प्रमुख योजनाकारमध्ये एकका रूपमा हेरिन्छ । उहाँको नेतृत्वकालमा कतारले तीव्र आर्थिक विकास हाँसिल गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभाव विस्तार गरेको थियो । शेख हमदले सन् १९९५ को जुनमा विदेश भ्रमणमा रहेका आफ्ना बुवा शेख खलिफा बिन हमद अल थानीलाई रक्तहीन सत्ता परिवर्तनमार्फत विस्थापित गर्दै नेतृत्व सम्हाल्नुभएको थियो ।
त्यतिबेला सीमित आर्थिक स्रोत भएको सानो खाडी राष्ट्रलाई उहाँले ऊर्जा, सञ्चार र कूटनीतिक क्षेत्रमा विस्तार गर्दै विश्वस्तरमा प्रभावशाली मुलुकका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँकै शासनकालमा सन् १९९६ मा अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिरा मिडिया नेटवर्कको स्थापना भएको थियो ।
सन् २०१३ को जुनमा शेख हमदले आफ्ना छोरा शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गर्दै स्वेच्छिकरूपमा गद्दी त्याग गर्नुभएको थियो । यो अरब विश्वको आधुनिक इतिहासमा दुर्लभ घटनाका रूपमा हेरिएको थियो । करिब ३० लाख जनसङ्ख्या रहेको कतार खाडी क्षेत्रको सानो राष्ट्रमध्ये एक हो ।
यहाँको अर्थतन्त्र मुख्यरूपमा प्राकृतिक ग्यास र तेल क्षेत्रमा आधारित छ भने जनसङ्ख्याको ठुलो हिस्सा विदेशी कामदारले ओगटेका छन् । कतार सन् १९७१ सम्म बेलायतको संरक्षित राज्यका रूपमा रहेको थियो । १९औँ शताब्दीको मध्यदेखि नै अल थानी परिवारले यहाँको शासन गर्दै आएको छ । एएफपी

