Sun. Jul 12th, 2026

इरान-अमेरिका तनावबिच ओमाननजिक जहाजमा आक्रमण, १० जना भारतीयको उद्धार

       

नयाँदिल्ली । इरान-अमेरिका तनावबिच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका ११ भारतीय मध्ये १० जनाको उद्धार गरिएको छ भने एक जना अझै बेपत्ता रहेको भारतले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार, ‘जीएफएस ग्यालेक्सी’ नामक व्यावसायिक जहाजमाथि आइतबार बिहान ओमानको तट नजिक आक्रमण भएको थियो । घटनापछि खोज तथा उद्धार अभियान जारी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जहाजमा रहेका ११ भारतीय नागरिक मध्ये १० जनाको सकुशल उद्धार गरिएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ ।

अमेरिकी सेन्ट्रल कमान्डले जहाजमाथिको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै आगलागी र इन्जिन कक्षमा पुगेको क्षतिका कारण जहाज सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ । बेलायती सामुद्रिक सुरक्षा निकाय ‘युकेएमटिओ’का अनुसार चालक दलका सदस्यले जहाज छोडेर लाइफबोटमा आश्रय लिएका थिए ।

उक्त घटना ओमानको तटबाट करिब १७ किलोमिटर पूर्वमा भएको बताइएको छ । यो घटना अमेरिकाको पछिल्लो सैन्य कारबाहीको प्रत्युत्तर स्वरूप इरानले होर्मुज जलसन्धि बन्द गर्ने घोषणा गरेको तथा खाडी क्षेत्रका विभिन्न स्थानतर्फ क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखिरहेका बेला भएको हो ।

भारतीय विदेश मन्त्रालयले व्यावसायिक जहाज र नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय कानुन अनुसार क्षेत्रका अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र र निर्वाध आवागमन यथाशीघ्र पुनःस्थापना हुनुपर्नेमा जोड दिएको छ । इरान र अमेरिकाबिचको पछिल्लो तनावले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको अन्तरिम समझदारीलाई थप सङ्कटमा पारेको छ । रासस/एएफपी

Facebook Comments