Mon. Apr 29th, 2024

चिनिया कम्युनिष्ट पार्टी र नेपालका पार्टीहरुको बलियो सम्बन्धलाई मध्यनजर गर्दै भाजपाको निकटता बढाउन चौथाइवाको भ्रमण केन्द्रित :परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ

Hiranya Lal Shrestha

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ

काठमाडौं, २०७७ मंसिर २९ गते सोमबार

भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाले भख्खरै नेपाल भ्रमण सम्पन्न गर्नुभएको छ । सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको निमन्त्रणमा नेपाल आउनु भएका भाजपाका नेता चौथाइवाले भ्रमण अवधिमा प्रधामन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका नेता सुवास नेम्वाङ, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर, उपेन्द्र यादव लगायत विभिन्न राजनीतिक दलका नेताहरु र सरकारका उच्च पदस्थ अधिकारीहरुसँग भेट वार्ता गर्नुभयो ।

चीनको राज्यपरिषद्का सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हले नेपाल भ्रमण गर्नुभएको दुई साता पनि वित्न नपाउँदै सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवाले नेपाल भ्रमण गर्नुका पछाडी कुनै महत्वपूर्ण उद्धेश्य वा स्वार्थ जोडिएको त छैन ?  कि चौथाईवाको भ्रमण मात्र नेपालका राजनीतिक पार्टीहरुसँग आफ्नो पार्टीको सम्बन्ध फराकिलो बनाउने हो भन्ने लगायतका विविध विषयमा भ्वाईस अफ काठमाडौं मिडियाका सम्पादक रमेश हतुवालीले वरिष्ठ लेखक तथा कुटनीतिज्ञ एवम् रुसका लागि पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठसँग कुराकानी गर्नुभएको छ :

भारतीय जनता पार्टी भाजपा का विदेश विभाग प्रमुख विजय चौथाईवाले भख्खरै नेपाल भ्रमण सम्पन्न गर्नुभएको छ । यो भ्रमणको मुख्य उद्देश्य के हुन सक्छ ?

भारतीय जनता पार्टीले नेपालका राजनीतिक पार्टीहरुसँग सम्बन्ध राख्न र सम्बन्ध बढाउनको लागि भाजपाको प्रतिनिधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत भएर विजय चौथाईवा नेपाल भ्रमणमा आउनु भएको हो । भ्रमणका क्रममा चौथाईवाले प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सुवास नेम्वाङ, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर, नेता उपेन्द्र यादव लगायत विभिन्न राजनीतिक दलका नेताहरु र सरकारका उच्च पदस्थ अधिकारीहरुसँग भेट गर्नुभयो । खास कुरो के हो भने चिनिया कम्युनिष्ट पार्टी र नेपालका ठूला राजनीतिक पार्टीहरुबीच राम्रो सम्बन्ध भएको अवस्थामा भाजपाको सम्बन्ध पूर्वराजासँग मात्रै घनिष्ट भएको अवस्थामा बदलिदो परिस्थिीती अनुसार चौथाईवाको भ्रमण भएको हो भन्ने मलाई लाग्छ ।

यहाँ महत्वपूर्ण कुरो के छ भने एकातिर नेकपा भित्र आन्तरिक द्वन्द चलिरहेको छ, त्यो विषयलाई भारत बाहिर बाहिर हस्तक्षेप गर्दैनौ भन्छ, त्यस विषयमा पनि केही अध्ययन होला । दोश्रो कुरा राजसंस्थाको पक्षमा देशका विभिन्न भागहरुमा प्रदर्शनहरु भयो र विप्लब नेतृत्वको नेकपाभित्र पनि व्यक्ति हत्या जस्ता क्रियाकलाप चल्न सुरु गरेको र सरकारले पनि सो पार्टीलाई वार्तामा ल्याउने प्रयास नगरिरहेको जस्ता विभिन्न राजनैतिक समस्याहरु भएको बेलामा कुन शक्तिसंग कस्तो सम्बन्ध राख्ने त्यसको अध्ययन कै लागि चौथाईवाको भ्रमण भएकोे देखिन्छ ।

भारतीय विदेश सचिवले नेपाल भ्रमण सम्पन्न गरेर फर्किएको दुई साता नवित्दै विदेश विभाग प्रमुख चौथाईवाले नेपालको भ्रमण गर्नुले नेपालको भूराजनैतिक महत्वलाई भारतले प्रार्थमिकतामा राख्न थालेको जस्तो देखिन्छ नी ?

नेपालको भूराजनैतिक महत्व बढ्दै गएको छ किनकी अमेरिका र चीनको प्रतिष्पर्धा बढ्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग सुरक्षा सन्धि नै गरिसकेका छन् । अमेरिकाका परराष्ट्र मन्त्री नै भारत आएर चीनका सेना कहाँ कसरी बसेका छन् भन्ने जस्ता स्याटेलाईटबाट खिचेका फोटाहरु भारतीय सेनालाई दिने र हतियार बेच्ने यी सबै कुरा र सम्झौता गरेको थियो ।

अब अमेरिकी प्रशासन जो बाईडेनले सम्हाले पछि चीन र अमेरिकाबीचको विवाद अलिकति मथ्थर हुन सक्छ तर बैचारिक तथा व्यापारिक प्रतिष्पर्धा भैरहन्छ । अमेरिकाले चीनको मानवअधिकारको कुरो उठाउन छोड्दैन, हङकङमा पनि प्रत्यक्ष अप्रत्यक्ष हस्तक्षेप त्यहाँको आन्तरिक मामिलामा भैरहेको छ र हङकङ चीनमा गाभिएपछि चीनलाई हेर्ने चीनको जासुसी गर्ने स्थान पश्चिमी देशहरुको अब नेपाल पनि भएको छ । त्यसैले उनीहरु लाईन कसेरै आउन थालेको हो यो कुरो पनि प्रष्टै देखिन्छ र नेपालमा ठूला शक्ति राष्टहरुको एकपछि अर्को प्रभाव बढ्दै गएको देखिन्छ । सायद अब बाईडेनले सपथ ग्रहण गरिसकेपछि उपराष्ट्रपति भएपनि दक्षिण आउने सम्भवना हुन्छ र नेपालमा पनि आउने संभावना देखिन्छ ।

त्यसैले जापान, अमेरिका, भारत, अष्टेलिया आदि देशको इन्डो प्यासिफक रणनीतिमा पनि एकता भएको र सैनिक अभ्यास समेत भैराखेको छ । अमेरिका र भारत नजिक भएर चीन विरोधी गतिविधि बढाउन लागेको भनेर रुसका परराष्ट्र मन्त्रीले त प्रस्ट भन्दिएकी अमेरिका र भारत नजिक भएर चीन विरोधी गतिविधी बढाउन लागेको छ दक्षिण एशियामा भने । यसैले विश्वको ध्रुविकरण एकातिर चीन र रुस र अर्कोतिर पश्चिमी देशहरु देखिन्छ र भारत पनि त्यसमा सम्मिलत भएको देखिन्छ ।

मध्यपूर्वमा पनि ध्रुविकरण भएको छ अमेरिकाको पक्ष र अमेरिकाको विपक्षी शक्तिहरुकोबीचमा । त्यसैले मध्यपूर्वबाट दक्षिण एशियामा पनि प्रतिष्पर्धा र द्वन्दको स्थिती सृजना गर्ने प्रतिष्पर्धा भैरहेको छ । र चीनसँग सीमा जोडिएको नेपाललाई उनीहरुले तिब्बतमा खैलाबैला मच्चाउनको लागि र विखण्डनवादीलाई उकास्नको लागि भूराजनीतक रुपले सजिलो ठाउको रुपमा पनि उनीहरुले यहाँ अभिरुची देखाएको देखिन्छ । चीन पनि सतर्क भएकै देखिन्छ । त्यसैले पनि केही दिन पहिले चीनका रक्षामन्त्रीको नेपाल भ्रमण भएको हो । किनकी त्यो चीनको पनि राष्ट्रिय सुरक्षा चासोको विषय हो ।

भारतको त राजनीतिक तथा सुरक्षा सेनाका प्राय सबै अधिकारीहरु नेपाल आईरहेको अवस्था छ । भारत र चीनको प्रतिष्पर्धा, चीन र अमेरिकाको प्रतिष्पर्धा र इन्डो प्यासिफिक रणनीति अन्तर्गतका देशहरुसँगको चीनको अन्तरविरोधको अभिव्यक्ति यी श्रृखलाबद्ध हुने भ्रमणबाट बुझ्न सकिन्छ ।

नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय गुप्तचर संस्था रअका प्रमुख, भारतीय स्थल सेनाका प्रमुख, भारतका विदेश सचिव र भख्खरै भाजपाका विदेश विभाग प्रमुखको नेपाल भ्रमण भैसकेको अवस्थामा सरकारले ती भूमि फिर्ता ल्याउन कत्तिको पहल गरेको देख्नु भयो ?

नेपाल सरकारले सर्वसम्मतीबाट संसदबाट पारित गरिसकेपछि नक्सा अनुसारको भूभाग फिर्ता ल्याउने कामलाई प्रार्थमिकतामा राखेर कुटनीति सञ्चालन गर्नुपर्ने हो । त्यसैले सरकारले उनीहरु आउँदाखेरि यो भूभाग हाम्रो हो अब तपाईहरु नै फिर्ता दिनुहोस् भन्न थालिसकेको छ । अब नेपालमा जो सुकै प्रधानमन्त्री आए पनि संसदबाट नक्सा पारित गरिसकेको हुँदा पन्सिने अवस्था छैन सरकारको काँधमा त्यो जिम्मेवारी आउँछ । यो काम त्यत्ति सहज छैन । यसले लामो समय जान्छ यसमा नेपालले मेहनत गरिरहनु पर्छ । र नेपालले चीन लगायतका सबै ठूला तथा शक्तिसालीदेशहरुलाई यो जानकारी दिएर नेपाली भूमि फर्काउनको लागि मौन कुटनीति भए पनि हामीले अबलम्बन गर्दै ठूलादेशहरुले सहयोग गर्छन भन्नु पर्छ ।

चौथाईवाको यो भ्रमणले नेपालको आन्तरिक राजनीतिमा भारतीय चासो बढेको हल्ला चलेको छ यहाँलाई के लाग्छ ?

नेपालको आन्तरिक राजनीतिमा भारतीय चासो बढेको छ नै र दुवै मुलुकबीच सम्वादहिनताको अवस्था तोडिएर भारतको तर्फबाट एकपछि अर्को भ्रमण हुँदैछ ।  चौथाईवाले एउटा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीको पनि नेपाल आउने इच्छा छ भनेर सुनाएका छन् त्यसैले यस्तो वेला नेपालका राजनीतिक दलहरुसँग के कसरी कस्तो कुरा गर्नुपर्ला, नेपालमा बढिरहेको चिनिया प्रभाव कसरी घटाउन सकिन्छ जस्ता विषयहरुमा अध्ययन तथा परामर्श गर्न भाजपा र भारत सरकारको तर्फबाट नै चौथाईवाको भ्रमण निहीत रहेको देखिन्छ ।

केही महिना पहिले पनि चौथाईवा नेपाल आउनु भएको थियो र भाजपाका महासचिव पनि नेपाल आउनु भएको थियो । चिनिया कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीवीच बलियो सम्बन्ध स्थापित भएको अवस्थामा आफ्नो पार्टी पछि पर्ने पो हो की भन्ने समेत कुरालाई ध्यानमा राखेर यहाँका पार्टीहरुसँग सम्पर्क बढाउनको लागि पनि आएको कुरा उहाँका भेटघाटको कार्यक्रम र उहाँका अभिव्यक्तिहरुबाट छरलंङ्गै बुझिन्छ ।

चौथाईवाको भेटघाटले भाजपा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस मात्र होइन कि मधेसी दलहरु र सम्भवत विप्लव नेतृत्वको नेकपासँग पनि उसको सम्पर्क भैसकेको हुन सक्छ नभए हतियार पनि आउदैन लुक्ने ठाउँ पनि हुँदैन । त्यसैले भाजपा नेपालका एकथरीसँग मात्र होइन सबैथरी दलहरुसँग, अति दक्षिणपन्थी अति बामपन्थी, मध्यपन्थी सबैसँग उसको बहुआयामिक सम्बन्ध कायम गरिकन प्रधानमन्त्री मोदीलाई नयाँ नीति निर्माणको लागि सुझाव दिनलाई आएको अध्ययन भ्रमणको रुपमा मैले लिएको छु ।

Facebook Comments