Mon. Apr 29th, 2024

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्ने

काठमाडौं, २०७७ मंसिर २९ गते सोमबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गर्ने भएको छ । ती प्रदर्शनहरुमा केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले प्रदर्शन गर्न लागेको हो । केही दिन पहिले तनहुँमा पुल उद्घाटन गर्न पुगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि आक्रोशित बनेको कांग्रेस सडकमा उत्रिएको हो। देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेकोले बाध्य भएर प्रदर्शन गर्नुपरेको कांग्रेसको भनाइ छ ।

पार्टी सभापति शेरबहादुर देउवाले हेटौंडामा र वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने कांग्रेसले जनाएको छ । त्यस्तै, उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । महामन्त्री डा. शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री डा. प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा, सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटा र पूर्वसहमहामन्त्री डा.रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले कास्कीमा हुने विरोध सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कांग्रेसले कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।

Facebook Comments