Thu. May 7th, 2026

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ   

शपथ ग्रहण राष्ट्रपति भवन, शीतल निवासमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै । तस्बिर : गोपाल दाहाल/रासस

       

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ दिलाउनुभएको हो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मङ्गलबार सङ्घीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सरिक हुनुहुन्थ्यो ।

यसअघि उहाँ नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभामा सचेतकको भूमिकामा हुनुहुन्थ्यो । एमालेको केन्द्रीय सदस्यसमेत रहनुभएका नवनियुक्त मन्त्री न्यौपानेले आजै सिंहदरबार पुगेर पद वहाली गर्ने कार्यक्रम छ । रासस

Facebook Comments