Sat. Apr 27th, 2024

कोरोना कहर : भक्तपुरमा पहिलोपटक रोकियो तुलजा यात्रा, बलिको सट्टा नरिवल चढाइयो

कोरोना भाइरस संक्रमणको कारण भक्तपुरको तलेजु आगमछेंमा पहिलोपटक तुलजा यात्रा रोकिएको छ । भक्तपुर तलेजुको मूलचोकका दक्षिणस्थित मूल देवघरमा रहेकी तलेजु भवानीलाई पश्चिमस्थित कुमारी चोकको दसैंघरमा यात्रा गराउनु तुलजा यात्रा हो । तुलजा यात्रा प्रत्येक वर्ष विजया दशमीको सप्तमी एवं फूलपातीको दिन हुँदै आएको छ ।

यसरी सप्तमीमा तुलजा यात्रा गरी दसैंघरमा विराजमान भएकी तलेजुलाई दशमीको दिन टीकाको साइतपछि टीका र जमरा ग्रहण गराएर पुनः तुलजा यात्रा गराएरै दक्षिणस्थित मूल देवघरमा विराजमान गराइन्छ । तर यसवर्ष सप्तमी तिथिको सुरुवाती तुलजा यात्रा नभएकाले दशमीको दिनको तुलजा यात्रा पनि रोकिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

‘कोरोना भाइरस संक्रमण नियन्त्रण एवं व्यवस्थापन गर्न यस वर्ष सप्तमीको दिन तलेजु भवानीको तुलजा यात्रा रोक्यौं’, उहाँले भन्नुभयो, ‘तलेजु भवानीलाई मूल देवघरमै सप्तमीको सम्पूर्ण विधिविधान पूजा सम्पन्न गरेका छौं ।’

अष्टमातृकाभित्र पर्ने शक्तिदेवीहरुमध्ये तलेजु मूल देवी मानिन्छ । त्यसैले यसअघि तलेजुमा सप्तमीको दिन हुने तुलजा यात्रामा सर्वसाधारणको भव्य उपस्थिति हुन्थ्यो । बाजागाजासहित तुलजा यात्रा गरिन्थ्यो । यस वर्ष तुलजा यात्रा रोकिएकाले बाजा पनि बजेन ।

तुलजा यात्रा गराउन पुरानो लुगा (घाजी नङ) लगाएका पुजारीहरु (राजोपाध्याय, जोशी र कर्माचार्य) ले तलेजु भवानीलाई बोकेर कुमारी चोकस्थित दसैंघरमा स्थानान्तरण गर्छन् । पञ्चाङ निर्णायक समितिको साइतअनुसार तुलजा यात्रा हुँदै आएको छ । यस वर्ष तलेजुमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।

बलिको सट्टा नरिवल र हाँसको अन्डा

कोरोना भाइरस संक्रमणको कारण यस वर्ष तलेजुमा वडा दसैंमा बलि दिएर पूजा भएन । तलेजुका मूल नाइके जोशीले बलिको सट्टा नरिवल र हाँसको अन्डा राखेर तलेजुको पूजा सम्पन्न गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार तलेजुको पूजाको लागि कुखुरा तथा कुखुराको अन्डा चल्दैन ।

उहाँका अनुसार दसैंभर तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ वटा हाँसको बलि दिइन्छ । तलेजुमा विशेष गरेर सप्तमी, अष्टमी र नवमी गरी तीन दिन बलि पूजा हुने उहाँले बताउनु भयो ।

यस वर्ष कोरोना भाइरस संक्रमणको कारण बिस्का जात्रा, चैते दसैं, र विभिन्न थापूजामा समेत तलेजुमा बलि दिइएन । मूल नाइके जोशीका अनुसार तुलजा यात्रा रोकिएसँगै यस वर्ष तलेजुमा एकान्तकुमारीको सवारी पनि रोकिने भएको छ । महानवमीको दिन तलेजुस्थित दसैंघरमा एकान्तकुमारीको सवारी हुन्छ ।त्यस्तै विजया दशमीको राती हुने तलेजुको पायो (खड्ग) जात्रा पनि नहुने उहाँले बताउनु भयो ।

पायो जात्रामा तलेजु भवानीको प्रतीकस्वरुप खड्गलाई सेतो घोडामा सवार गराएर भक्तपुर नगर परिक्रमा गराइन्छ । यस जात्रामा सर्वसाधारणको सहभागिता उल्लेखनीय हुने भएकाले कोरोना भाइरस संक्रमण हुने सम्भावना बढेकाले जात्रा नै रोकिएको उहाँले स्पष्ट पार्नुभयो ।

भक्तपुरमा दसैंको पहिलो दिन दशमीसम्म नवरात जाने अष्टमातृकाहरु क्रमशः ब्रह्मायणी, माहेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी र त्रिपुरासुन्दरी शक्तिपीठमा सर्वसाधारणको लागि बन्द गरिएको छ । अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments