Sat. Apr 27th, 2024

क्यानडामा भव्य रुपमा दशैं तिहार कार्यक्रम मनाईदै

काठमाडौं, २०७७ कात्तिक ७ गते शुक्रबार

नेपालीहरुको महान चाड विजया दशमी (बडादशैं) तथा तिहार, २०७७ को पावन उपलक्ष्यमा नेप्लिज क्यानेडियन सोसाईटी अफ एडमन्टनले भव्य रुपमा विभिन्न साँस्कृतिक गतिविधिका साथमा भर्चुअल दशै/तिहार कार्यक्रमको आयोजना गर्दैछ ।

सो संस्थाका साँस्कृतिक कार्यक्रम निर्देशक निश्चल नेपालले भ्वाईस अफ काठमाडौंलाई दिनु भएको जानकारी अनुसार यही अक्टोबर २४ तारिख शनिवार दिउसो १२ बजेदेखि १ बजेसम्म भर्चुअल दशै तिहार कार्यक्रमको आयोजना गरिनेछ । सो कार्यक्रममा विभिन्न गीतसंगीत, दुर्गानाच, दुर्गा पूजा, दशैं तथा तिहार पर्वमा नाचिने मौलिक नृत्यहरु, नाटक, मान्यजनहरुबाट दशैंकोे आसिस लिने, देउसी भैलो खेल्ने लगायतका विविध साँस्कृतिक प्रस्तुतीहरु रहनेछन् । ती कार्यक्रमहरुको संयोजन नमी श्रेष्ठले गर्नुहुने भएको छ ।

निर्देशक नेपालका अनुसार यो कार्यक्रम नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमन्टनको अफिसियल युट्युब च्यानल “Necase Live” बाट 12 PM मा लाईभ प्रशारण हुनेछ।

त्यसैगरी रेडियो काठमाडौं अन्तर्गत सञ्चालित सि.जे.एस.आर एफ.एम.८८.५ मेगाहर्ज एडमन्टनले क्यानडाको एडमन्टनबाट अक्टोबर २४ तारिख शनिवार विहान ११ बजेदेखि १२ बजेसम्म सो दशैं तिहार कार्यक्रमको बारेमा विशेष जानकारी प्रसारण गर्नेछ । सो संस्थाले क्यानडाका विभिन्न भागमा बसोबास गरिरहेका नेपाली समुदायहरुलाई साँस्कृतिक कार्यक्रम मार्फत गीतसंगीत, नाटक आदि प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिने उद्देश्य राखेको छ ।

नेपालीहरुको भव्य लोक संस्कृति तथा चाडबाडलाई विश्व सामु चिनाउने महान लक्ष्यसाथ नेप्लिज क्यानेडियन सोसाईटी अफ एडमन्टन स्थापना कालदेखि नै लागि रहेको छ । निश्चल नेपाल भन्नुहुन्छ यत्तिवेला क्यानडा कल्चर डे भव्य रुपमा चलिरहेको छ र करोडौ मानिसहरु यस भव्य साँस्कृतिक महोत्सवमा सहभागी भैरहेका छन् । यस वर्ष सेप्टेम्वर २५ देखि सुरु भएको कल्चरल डेज क्यानडा २०२० यही अक्टोबर २५ तारिखसम्म सञ्चालन हुँदैछ । संयोग नै भन्नु पर्छ नेप्लिज क्यानेडियन सोसाईटी अफ एडमन्टन पहिलो पटक यो भव्य साँस्कृतिक महोत्सवमा सहभागी हुँदैछ । जुन महोत्सव मार्फत क्यानेडीयन जनता र त्यहाँ रहेका नेपालीहरुलाई संस्कृतिको बारेमा जानकारी दिँदै विविध साँस्कृतिक प्रस्तुतीहरुको आयोजना गरिनेछ ।

स्मरणीय के छ भने नेप्लिज क्यानेडियन सोसाईटी अफ एडमन्टनले गएको २० तारिखका दिन भव्य रुपमा भर्चुअल तिज कार्यक्रम पनि मनाएको थियो । सो कार्यक्रमममा व्यापक सहभागिता रहेको थियो ।

नेप्लिज क्यानेडियन सोसाईटी अफ एडमन्टनका अनुसार रेडियो काठमाडौं अन्तर्गत सञ्चालित सि.जे.एस.आर. एफ.एम. ८८.५ मेगाहर्ज एडमन्टनले क्यानडाको एडमन्टनबाट १८ तारिख घटस्थापनाको दिन दशैं तथा घटस्थापनाको धार्मिक तथा साँस्कृतिक महत्वको बारेमा चर्चा गरेको थियो भने विभिन्न नेपाली गित संगीतको समेत प्रसारण भएको थियो ।

नेप्लिज क्यानेडियन सोसाईटी अफ एडमन्टनले बडादशैं तथा तिहार, २०७७ को पावन उपलक्ष्यमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एबंम उत्तरोत्तर प्रगतीको कामना समेत गरेको छ ।

Facebook Comments