Thu. Apr 25th, 2024

बडादसैंको सातौं दिन आज देशभर धार्मीक परम्परा अनुसार फूलपाती भित्रयाइँदै छ

विराटनगर, २०७७ कात्तिक ७ गते शुक्रबार

उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रुपमा आजै शुभ साईतको प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दसैंघरबाट विधिपूर्वक भित्रियाउने गरिन्छ । भगवतीका अन्य मन्दिरहरुमा पनि आजै फूलपाती भित्रियाइँन्छ ।

परम्पराअनुसार गोर्खा दरबारको दसैंघरबाट ल्याइएको फूलपाती आजै हनुमानढोकास्थित दसैंघरमा भित्रियाइँन्छ । सो फूलपातीलाई गोर्खाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पूजारीसहित ६ जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाडौंबाट गएका पुजारीले बोकेर ल्याउँछन् । हनुमानढोकाबाट हर्षबढाईका साथ गएको लावालस्करले जमलमा राखिएको सो फुलपाती हनुामानढोकास्थित दसैंघरमा ल्याईन्छ । फूलपाती लिन ब्यान्डबाजा, गुरुज्यूको पल्टन, पञ्चैबाजा, सिंगारिएका कल्स्यौरी, आशागुर्जाटोली, साँस्कृतिक नाचगानटोली, निजामती कर्मचारी, सैनिक र प्रहरीहरु सम्मिलित हुन्छन् ।

नेपालीसेनाद्वारा टुँडिखेलमा आयोजित बढाईँ समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपाती हनुमान ढोकामा भित्रियाइँन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण बडा दशैंको सातौं दिन आज पूर्वी नेपालका विराटनगर, धरान, दमक, विर्तामोड, इलाम, फिदिम, ताप्लेजुंग, तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा, खोटांग, ओखलढुंगा, सोलुखुम्बू लगायतका जिल्ला, क्षेत्र तथा शहरका वजारहरुमा दशैंका लागि आवश्यक खाद्यान्ह, लत्ता कपडा र फलफुल किन्नेहरुको विगत वर्षहरुमा जस्तो चहल पहल नभए मानिसहरुको सामान्य उपस्थिती देखिएको छ ।

सप्तरीको सखडा भगवती, भोजपुर र संखुवासभाको सिद्धकाली, ताप्लेजुंगको पाथीभरा लगायतका मन्दिर तथा शक्तिपीठहरुमा दर्शनार्थी एवम् भक्तजनहरुको उपस्थिती देखिएको छ ।

Facebook Comments