Sat. Apr 27th, 2024

भारतीय गुप्तचर संस्थाका प्रमुखले प्रधानमन्त्रीलाई भेटेकोप्रति साझा पार्टीको आपत्ति

काठमाडौं, २०७७ कात्तिक ६ गते बिहीबार

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्रीसँग भेट गरेकोप्रति साझ पार्टीले आपत्ति जनाएको छ।

साझ पार्टीले अचानक नेपाल भ्रमण गरेर रअ प्रमुख गोयलले प्रधानमन्त्रीलाई भेटेको भन्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको हो। साझ पार्टीले गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विशेष दूतको रुपमा पठाएको हो भन्दै प्रश्नसमेत गरेको छ।

साझाका प्रवक्ता शरदराज पाठकले सार्वजनिक गरेको विज्ञप्तिमा यो भेटले प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि ठाडो आक्रमण भएको उल्लेख गरिएको छ।

‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर फर्किएको विषयप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन् ? यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्दछ। त्यो प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण हो।’

साझा पार्टीले गोयल नेपाली गुप्तचर निकायका प्रमुखको निमन्त्रणमा नेपाल आएका हुन् भन्दै प्रश्नसमेत गरेको छ।

‘के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन् ? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन् ? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन ? एकातिर परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिनु र अर्कोतिर खुफिया एजेन्सीका प्रमुख आएर सिधै प्रधानमन्त्रीलाई भेट्नुले नेपाली कुटनीति भारतसँगको सम्वन्धमा कुन तहमा गिरेको छ भन्नेमात्र स्पष्ट पार्दैन, त्यसले अन्य देशहरूसँगको हाम्रा कुटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाइदिनेछ’, विज्ञप्तिमा थप भनिएको छ।

यो भेटलाई साझा पार्टीले प्रधानमन्त्री ओली लज्जाजनक रवैयाको संज्ञा दिएको छ। ‘यो दशकौँदेखि नेपालका शीर्ष भनिएका नेताहरूले देखाइरहेको आचरणकै निरन्तरता हो। यस्तो आचरणलाई रोक्न र परराष्ट्र मन्त्रालयको कूटनीतिक आचारसंहिता पालना गर्न साझा पार्टी सबै नेताहरूलाई पुनः आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ। अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments