Thu. May 2nd, 2024

कैलालीमा हराइरहेका प्रहरी जवानको शव नदी भित्र गाडेको अवस्थामा फेलापर्यो

धनगढी, २०७७ कात्तिक ४ गते मंगलबार

गस्तीमा गएका बेला प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै हत्या भएका प्रहरी जवान रामबहादुर साउँदको आज विहान शव फेला परेको छ ।

सम्पर्कविहीन भएको ६० घण्टापछि मोहना नदीको पानीभित्र बालुवामा गाडिएको अवस्थामा साउदको शव फेला परेको हो । शनिवार राति नेपाल(भारत सीमा क्षेत्रमा नियमित गस्तीमा जाँदा सोही राति नै दुवै जनाको हत्या भएको थियो । धनगढी उपमहानगरपालिका(१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत उहाँहरु राति साढे १० बजेबाट सम्पर्कविहीन हुनुभएको थियो ।

आइतबार बिहान मोहना नदीमा बिकको शव फेला परे पनि साउदको अवस्थाभने दुई दिनसम्म अज्ञात रहेको थियो । निरन्तरको खोजी प्रयासपछि आज विहान नदीमा पानीभित्र शव गाडिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक दिलिप देउवाले जानकारी दिनुभयो । ‘असइ बिकको शव फेला परेको भन्दा केहीमाथि नदीमा जवान साउँदको शव फेला परेको छ’, उहाँले भन्नुभयो । ‘शव पानीभित्रै बालुवामा गाडिएको थियो ।’ मृतक साउँदको शरीरको अन्य भाग बालुवाले छोपिए पनि खुट्टा भने पानीभित्र देखिएको जनाइएको छ । खुट्टा देखिएको आधारमा शव फेला पारिएको हो ।

घटना भएको स्थानमा देखिएको दृश्य र फेला परेको प्रमाण अनुसार दुवै जनाको अन्यत्र हत्या गरेर नदीमा फालिएको प्रहरी निष्कर्ष छ । आपराधिक समूहले दुवै जना प्रहरीको हत्या नजिकको उखुबारीमा गरेको प्रहरी अनुमान छ ।

घटना भएको क्षेत्र तस्करीको ट्रान्जिट प्वाइन्ट मानिन्छ । नजिक रहेको भारतीय पारासरिया, सुडा, बनगटी बजारबाट विभिन्न सामान तस्करी हुँदै आएको छ । दुवै प्रहरीको तस्कर समूहले नै निर्ममतापूर्व हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

स्थानीय तस्करले तस्करी गरेर ल्याउँदै गरेको सामान अस्थायी प्रहरी चेकपोष्टले पक्राउ गरेको चार दिनपछि घटना भएको हो । हत्याबारे अनुसन्धान गर्न प्रहरीले घटना भएको आसपास गाउँका १६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको पृष्ठभूमि तस्करीसंग सम्बन्धित रहेको जनाइएको छ । उनीहरुसँग सोधपुछ भइरहेको प्रहरी भनाइ छ ।

हत्या भएका दुवै प्रहरीको शव फेला परिसकेकाले अब अपराधिसम्म पुग्न सजिलो भएको प्रहरी उपरीक्षक देउवाले बताउनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments