Fri. Apr 26th, 2024

कोरोनाको उपचार अब आफ्नै खर्चमा गर्नुपर्ने, अस्पतालले ५० प्रतिशत शैया छुट्याउनु पर्ने

काठमाडौं, २०७७ कात्तिक २ गते आईतबार

सरकारले अबदेखि कोरोना भाइरस कोभिड १९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने बताउनु भएको हो । उनीहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने प्रवक्ता गौतमले बताउनु भयो ।

तर कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार बीमा रकमबाट लिइने पनि उहाँले बताउनु भयो । अन्य सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने र यो व्यवस्था कात्तिक २ गतेदेखि नै लागू भएको पनि प्रवक्ता गौतमले बताउनु भयो ।

२०७७ असोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम यस्तो व्यवस्था गरिएको गौतमले स्पष्ट पार्नुभयो । यो निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा लागू हुने छ ।

सबै निजी र सहकारी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुले कम्तीमा ५० प्रतिशत सबै किसिमका शय्या, आईसीयू लगायतका पूर्वाधारहरु कोभिड १९ को उपचारका लागि छुट्याउनुपर्ने भएको समाचार कान्तिपुर अनलाईनले लेखेको छ ।

Facebook Comments